
बागलुङ, १९ पुस ।
नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखालाई बागलुङ जेसीजमा स्थापित ‘सजना केसी महतो’ स्मृति कोषबाट सम्मान गरिएको छ । बागलुङ जेसीजको ४८औँ पदस्थापन तथा सम्मान समारोहमा शुक्रबार नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्की, कोषका संरक्षक गणेश महतोलगायतले पत्रकार महासङ्घका अध्यक्ष राम थापालाई दोसल्ला र सम्मानपत्र प्रदान गरेका हुन् ।
बागलुङ जेसीजका कार्यक्रम तथा गतिविधिमा सञ्चारको क्षेत्रमा सहयोग र समन्वयकारी भूमिका निर्वाह गरेकामा पत्रकार महासङ्घलाई सम्मान गरिएको हो । यसै वर्ष स्थापित उक्त कोषबाट आगामी वर्षदेखि पत्रकारलाई सम्मान गर्ने गरी पहिलो वर्ष संस्थागत रुपमा महासङ्घलाई पदान गरिएको कोषका संरक्षक एवं बागलुङ जेसीजका पूर्वअध्यक्ष गणेश महतोले बताए ।
कोषको छुट्टै कार्यविधि बनाएर हरेक वर्ष जेसीजको पदस्थापन कार्यक्रममा एक जना पत्रकारलाई सम्मान गरिने उनको भनाइ छ ।
पत्रकार महासङ्घ र बागलुङ जेसीजबीच विभिन्न कार्यक्रममा सहकार्य हुँदै आएको छ । गत मङ्सिरमा दुवै संस्थाको सहकार्यमा पत्रकारहरुको आँखा परीक्षणसहित ‘कम्प्युटर भिजन सिन्ड्रोम’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको थियो । बागलुङ जेसीजले विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेका युवाहरुलाई पनि बर्सेनि सम्मान गर्दै आएको छ । जेसीज युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा समर्पित रहँदै आएको छ ।









