
बागलुङ, १२ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पर्यटन र व्यवसायका अपार सम्भावना रहेको बताउनुभएको छ ।
बागलुङ उद्योग वाणिज्य संघद्वारा आयोजित आठौँ बागलुङ महोत्सवको शुक्रबार उद्घाटनपछि बोल्दै अध्यक्ष ढकालले खोलादेखि हिमालसम्म लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्नुभयो । “म कहि हिड्दा जे हेर्यो त्यही व्यवसायी देख्ने गरेको छु । जहाँ पनि व्यवसायिक सम्भावना छन्,” उहाँले भन्नुभयो,“खोलामा जलविद्युत् र हिमालमा पर्यटन विकासको ठूलो सम्भावना रहेको छ । कृषि उत्पादन र हरेक हिसावमा धेरै सम्भावना छ ।”
बागलुङ हरेक हिसाबले सम्भावनायुक्त जिल्ला भएको उल्लेख गर्दै उहाँले यसको प्रचारमा जोड दिनुपर्ने बताउनुभयो । भारत र चीन जोड्ने कालिगण्डकी करिडोरको मध्यविन्दुमा बागलुङ रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले भारतको सुनौली नाकाबाट चार घण्टामा बागलुङ पुग्न सकिने र बागलुङबाट चीनको कोरला नाका करिब पाँच घण्टामा पुगिने बताउनुभयो । यसले बागलुङलाई पर्यटन र व्यवसायिक गतिविधिको केन्द्र बनाउन सकिने उहाँको भनाइ थियो ।
उहाँले कोरला नाका खुलेपछि पाँच अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको र करिब २० करोड रुपैयाँ बराबरको नेपाली सामग्री निर्यात भएको बताउनुभयो । साथै, गण्डकी प्रदेश पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको बताउनुभयो । “गण्डकी प्रदेश पर्यटकीय क्षेत्र हो,” उहाँले भन्नुभयो,“सिजनमा मात्रै मुस्ताङमा साढे दुई लाखभन्दा बढी पर्यटक भित्रिएका थिए । नेपालमा आउने कुल पर्यटकमध्ये करिब ४० प्रतिशत गण्डकी प्रदेशमै आउने गरेका छन् ।”
सामाजिक सञ्जालमा नेपालप्रति नकारात्मक भ्रम फैलाइँदै आएको भन्दै उहाँले त्यसलाई चिर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “सामाजिक सञ्जालमा नेपालको केही पनि राम्रो छैन, सवै चिज बराव छ भन्ने जुन भ्रम फैलाइएको छ त्यो गलत छ,” अध्यक्ष ढकालले भन्नुभयो,“ हामीले हेर्दा सायद हामी युरोप अमेरिकासँग तुलना गर्दा धेरै काम गर्न बाँकी छ । तर, नेपालमा जति सम्भावना छ त्यती अयन्त्र सम्भावना छैन । किनकी त्यहाँका सवै कुरा बाहिरि आइसकेको छ र बनाउनुपर्ने बाँकी केही छैन । त्यसैले नेपालमा भने अझै निर्माण र विकासका अपार अवसर छन् ।”
अध्यक्ष ढकालले नकारात्मक भ्रमलाई चिर्नको लागि स्वदेशी पूँजी परिचालनमार्फत ठूला परियोजना सञ्चालन गर्ने उद्देश्यले उद्योग वाणिज्य महासंघले १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ कम्पनी स्थापना गरेको जानकारी दिनुभयो । जिल्लामा लगानीको अभावका कारण उद्यम अघि बढ्न नसकेको अवस्थामा उक्त कम्पनीले लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै अब विदेशी लगानीकर्ताको खोजीमा बस्न नपर्ने र नेपाली लगानीकर्ताले आवश्यक पुँजी जुटाउन सक्ने अवस्था सिर्जना भएको उहाँको भनाई छ ।
अध्यक्ष ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, कालिगण्डकी करिडोर तथा भारत–चीन नाका प्रयोग गर्दै बागलुङले आफ्नो व्यवसायिक र पर्यटकीय विकासलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभयो । बागलुङमा धार्मिक तथा प्राकृतिक पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले यहाँका पर्यटकीय स्थलको प्रभावकारी प्रचार गर्न सके छोटो समयमा नै व्यवसायिक गतिविधि उल्लेख्य रूपमा बढ्ने बताउनुभयो ।
अध्यक्ष ढकालले बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले स्थानीय उत्पादन, वस्तु तथा सेवाको प्रवद्र्धन गर्दै व्यवसायिक गतिविधि बढाएको भन्दै संघको प्रशंसा गर्नुभयो । महोत्सवमार्फत जिल्लाका उत्पादन र पर्यटकीय स्थलको प्रचार–प्रसार हुनु सकारात्मक पहल भएको उहाँको भनाइ छ ।
बागलुङमा शुक्रबारदेखि आठौँ बागलुङ महोत्सव सुरु भएको छ । महोत्सव पुस २१ गतेसम्म संचालन हुने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले महोत्सवमा २ सय वटा व्यवसायीक स्टल रहेको र स्थानीय उत्पादनको प्रबद्र्धनको लागि मेडइन बागलुङ स्टलको व्यवस्था गरिएको बताउनुभयो ।










