महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्षमा पुनः खड्का

बागलुङ, ६ पुस । महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा पुनः लिलादेवि के.सी. खड्का निर्वाचित हुनुभएको छ ।

सहकारीको शनिबार सम्पन्न २४औँ साधारण सभा तथा ८औँ अधिवेशनले खड्काको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो । सहकारीको उपाध्यक्षमा उपाध्यक्षमा विन्दा खड्का, सचिवमा पम्फा कुमारी किसान, कोषाध्यक्षमा विष्णु खत्री चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा लक्ष्मी किसान, सुभन्द्रा आचार्य, सरिता रायमाझी, अम्बिका खड्का, कमला खड्का चयन हुनुभएको निर्वाचन अधिकृत लक्ष्मीदेवि जिसीले बताउनुभयो ।

यस्तै लेखा तथा अनुगमन समितिकी संयोजकमा सावित्री केसी र सदस्यहरुमा नानुमैया शाक्य, शान्ता अधिकारी चयन भएको छ ।

शनिबार सम्पन्न साधारणसभाले संस्थाका सचिव सावित्री केसीले प्रस्तुत गरेको गतआर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष पम्फा कुमारी किसानले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

साधारणसभामा सहकारीकी सल्लाहकार खरक कुमारी खड्का, सल्लाहकार अधिवक्ता लक्ष्मी बाँस्कोटा, सहकारीकर्मी रामबहादुर जिसी, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी र मानवसेवा आश्रम बागलुङकी सञ्चालिका विपना तामाङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा सहकारीका सल्लाहकारहरु खरक कुमारी क्षेत्री, लक्ष्मी बास्कोटा, मनकुमारी केसी, शकुन्तला शर्मा, ममतादेवी शर्मा, लक्ष्मी देवी जि.सी., दुर्गा मल्ल, शान्ती गौतम ज्ञवाली, अध्यक्ष लिलादेवी के.सी खड्का, र शिक्षा संयोजक राधा कुमारी शर्मार्ला सम्मान गरिएको थियो । यस्तै नयाँ विश्वअनलाईन र मानवसेवा आश्रम बागलुङकी सञ्चालिका विपना तामाङलाई पनि सम्मान गरिएको थियो ।

यस्तै साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबार, साहसी महिला, व्यावसायिक महिला, श्रमिक महिलाहरुलाई सम्मान गरिएको थियोभने कर्मचारीतर्फ सुरक्षा गार्ड शर्मिला थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष लिला देवी केसी खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष पम्फा कुमारी किसानको स्वागत मन्तव्य र सचिव सावित्री केसीले संचालन गर्नुभएको थियो ।

वि.सं २०५८ मंसिर ८ गते बागलुङ नगरपालिका– ३ गुठीमा स्थापना भएको यस सहकारीको शेयर सदस्य एक हजार तीन सय ३४ जना रहेका छन्भने शेयर पुँजी २ करोड ९० लाख रहेको कोषाध्यक्ष किसानले बताउनुभयो । यस्तै सहकारीको लगानी १० करोड ७१ लाख र तरलता १० करोड ७१ लाख रहेको किसानले बताउनुभयो ।