
बागलुङ, २६ मंसिर । बागलुङमा १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति बागलुङको आयोजनामा शुक्रबारदेखि बागलुङ नगरपालिका–१ बाङ्गेचार खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यार्थीहरुको लागि अवसर भएको बताउँदै अवसरलाई सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले विद्यार्थीहरुलाई यो अवसर स्वास्थ्यलाई मात्र नभई, विद्यालय, पालिका, जिल्ला, प्रदेश र राष्ट्रलाई केन्द्रमा राखेर आफ्नो कला प्रदर्शन गर्नु अनुरोध गर्नुभएको थियो ।
प्रमुख थिापाले प्रतियोगितामा पालिकाहरुले खेलाडी पठाउन आर्थिक समस्या भएपनि उनीहरुको भविश्यको लागि पालिकाहरुले पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्ला खेलकुद विकास समितिमा आर्थिक रुपमा समस्या रहेको बताउँदै अहिलेको समितिले आर्थिक जोहोको लागि विभिन्न स्थानमा अनुरोध गर्नुका साथै जिल्लाको खेलकुदलाई अगाडी बढाउन पहल गरिरहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन समारोहमा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, बडिगाड गाउँपालिका बागलुङकी अध्यक्ष गण्डकी थापा अधिकारी र गण्डकी प्रदेश खेलकुद परिषदकी सदस्य तथा बागलुङ जिल्ला संयोजक कन्चन थापा कोइरालाले राष्ट्रपति रनिङ शिल्ड खेलाडी उत्पादनको प्रथम विन्दु रहेको बताउनुभयो । उहाँहरुले विद्यालयहरुले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा खेलकुदलाई विशेष प्राथकिमता दिनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कृष्णप्रसाद कँडेलको अध्यक्षता तथा स्वागत मन्तव्यमा सम्पन्न भएको उद््घाटन समारोहको संचालन सचिव किशोर थापाले गर्नुभएको थियो ।
प्रतियोगिता अन्तरगत शुक्रबार एथलेटिक्सतर्फको दौड प्रतियोगिताका साथै कबड्डी प्रतियोगिता र भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।








