
बागलुङ, २६ मंसिर । बागलुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड आज (शुक्रबार)देखि हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति बागलुङले बिहिबार पत्रकार सम्मेलन गरी शुक्रबार (आज)देखि हुने १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका आठ पालिकाले सहभागिता जनाउने अध्यक्ष कृष्ण प्रसाद कंडेलले बताउनुभयो । उहाँले जिल्लामा दश पालिका रहेपनि ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकाले सहभागिता नजनाउने बताउनुभयो । “जिल्लाका दश पालिका मध्य दुई पालिकाले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्नुभएको छैन,”उहाँले भन्नुभयो,“ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकाले पालिकास्तरीय प्रतियोगिता नै नगरेकोले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता हुँदैनन् ।”
पालिकास्तरीय प्रतियोगितामा पदक विजेता खेलाडीहरु जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष कंडेलले जानकारी दिनुभयो । उहाँले ६६ पदकको लागि आठ सय बढी खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताउनुभयो ।
प्रतियोगितामा छात्र÷छत्रा भलिबल, कबड्डी, तेक्वान्डो, कराते, उसु र एथलेटिक्सतर्फ खेल हुने सचिव किशोर थापाले बताउनुभयो । प्रतियोगिताबाट प्रदेशस्तरीय प्रतियोगिताका लागि १४८ खेलाडी छनौट हुने सचिव थापाले बताउनुभयो । उहाँले एथलेटिक्सतर्फका खेलमा खेलाडी दोहोरिने हुँदा संख्यामा कमी आउन सक्ने जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालनको लागि समितिले नगरपालिकाबाट रु ६० हजार र गाउँपालिकाबाट रु ४० हजार दर्ता शुल्क लिने अध्यक्ष कंडेलले बताउनुभयो । उहाँले प्रतियोगिता संचालनको लागि प्रदेशबाट समेत केही बजेट विनियोजन हुने प्रतिबद्धता आएकोले खर्च कटाएर २ लाखसम्म बचत गर्ने लक्ष्य लिइएको बताउनुभयो । प्रदेशस्तरीय प्रतियोगिता यस वर्ष बागलुङमा हुने हुँदा बचत रकम प्रदेशस्तरीय प्रतियोगितामा खर्च गरिने अध्यक्ष कँडेलको भनाई छ ।










