तेस्रो मेयर कपः उपाधिको लागि बागलुङ र पैयुँ भिड्ने

अर्जुन कार्की
बागलुङ, १७ मंसिर । तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक बागलुङ नगरपालिका (निलो) र पर्वतको पैयुँ गाउँपालिका भिड्ने भएका छन् ।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा बागलुङ नगरपालिकाले उदयपुरको कटारी नगरपालिका र पैयुँ गाउँपालिकाले म्याग्दीको बेनी नगरपालिकालाई टाइब्रेकरमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बागलुङले कटारीलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगेको थियो । बागलुङको जितमा गोलरक्षक युनिश श्रेष्ठ नायक बन्नुभयो । उहाँले टाइब्रेकरमा कटारीका गणेश भुजेलको प्रहार रोक्नुभयो ।

टाइब्रेकरमा बागलुङको तर्फबाट निशान थापा, राजिव श्रीस, अमृत्त थापा, विविध थापा र अप्सन गौतमले गोल गर्नुभयो । कटारीको लागि डिकेश लामा, पवन तामाङ, हेमन्त भुजेल र कृष्ण आले मगरले गोल गर्नुभयो ।

त्यस अगाडि बागलुङले २–० को अग्रता लिएपनि जोगाउन सकेको थिएन । बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा भएको खेलमा बागलुङले ३५ औं मिनेटमा पेनाल्टी मार्फत खेलमा अग्रता लिएको थियो । ३५ औं मिनेटमा कटारीका कप्तान रितिक श्रेष्ठले डिबक्समा हेन्ड गरेपछि बागलुङले पेनाल्टी पाएको थियो । पेनाल्टीमा बागलुङका कप्तान निशान थापाले सहजै गोल गर्दै अग्रता दिलाउनुभयो ।

खेलको ४८ औं मिनेटमा बागलुङका निश्चल महतले हेडिङ्ग गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाउनुभएको थियो ।

कटारीका अभिषेक खड्काले तीन मिनेटमा दुई गोल गर्दै कटारीलाई खेलमा फर्काउनुभएको थियो । खड्काले ५० औं मिनेट र ५३ औं मिनेटमा गोल गर्नुभयो । निर्धारित ८० मिनेटमा दुवै टिमबाट थप गोल नभएपछि टाइब्रेकरमा धकेलिएको थियो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा बेनी नगरपालिका म्याग्दीलाई पराजित गर्दै पैयुँ गाउँपालिका पर्वत उपाधि नजिक पुगेको छ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पैयुँले टाइब्रेकरमा ४–२ को जित निकाल्यो ।

पैयुँको जितमा गोलरक्षक बिजन बस्याल नायक बन्नुभयो । उहाँले टाइब्रेकरमा बेनीका रविन खड्काको प्रहार रोक्नुभयो । बेनीका किरण थापाको प्रहार बाहिरिएको थियो ।

पैयुँको तर्फबाट कप्तान विश्वास श्रेष्ठ, बिशाल विक, सागर थापा र समिर नेपालीले गोल गर्नुभयो । बेनीको लागि सनम विक र मनिष श्रेष्ठले गोल गर्नुभयो ।

बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा नकआउटका आधारमा संचालित प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल बिहिरबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ र उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपियाँ प्राप्त गर्ने छन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट प्रशिक्षकले १०–१० हजार रुपियाँ प्राप्त गर्नेछन् ।