पौष ११ गतेदेखि आठौं बागलुङ महोत्सव

बागलुङ, ७ मंसिर । बागलुङमा आठौं बागलुङ महोत्सव–२०८२ हुने भएको छ ।

‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नाराका साथ बागलुङ उद्योग वाणिज्य संघले आगामी पुस ११ गतेदेखि २१ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको संघका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिनुभयो । उहाँले बागलुङ बजारको व्यापारलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

बागलुङ नगरपालिका वडा नम्बर १ मा रहेको बाङ्गेचौर खेलमैदानमा हुने महोत्सवमा १५० देखि २०० वटा व्यापारिक स्टल हुने आयोजकले जनाएको छ । अध्यक्ष शाक्यले महोत्सवमा जिल्लाका कृषि तथा घरेलु उत्पादनहरुलाई प्रबद्र्धनात्मक गर्न व्यापारिक तथा प्रदर्शनी स्टल राखिने बताउनुभयो । यस्तै जिल्लामै उत्पादन भइरहेका ब्राण्डहरुलाई मेड इन बागलुङ नाममा स्टल छुट्टाएर प्रदद्र्धन र विक्री गर्ने व्यवस्था मिलाइने अध्यक्ष शाक्यको भनाई छ ।

महोत्सव पर्ने अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा धेरैभन्दा धेरै पर्यटकहरुलाई बागलुङ भित्राउने लक्ष्य रहेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । बागलुङलाई व्यवसायिक गन्तव्य बनाउन र समग्र धौलागिरि क्षेत्रमा पर्यटक भित्र्याउन महोत्सवले मद्दत पुग्ने महासचिव इन्द्रमणि पौडेल (अर्जुन)ले बताउनुभयो ।

५० लाख नाफा हुने अपेक्षा लिइएको महोत्सवमा दुई करोड २० लाख रुपैयाँ आम्दानी र १ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

महात्ेसवमा खुल्ला राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भालु छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तित्वकला, लठो तान्ने, घैटोफोर, तारा हान्ने प्रतियोगिता,  विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती सहित मेलाको समयमा पर्ने अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा लाइभ डिजे कन्र्सट हुने प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिनुभयो । महोत्सवमा बागलुङका पर्यटकीयस्थलहरुको प्रचारप्रसारको लागि फोटो प्रदर्शनी समेत गरिने प्रेस सल्लाहकार आचार्यको भनाई छ।

महोत्सव पर्ने अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा धेरैभन्दा धेरै पर्यटकहरुलाई बागलुङ भित्राउने लक्ष्य रहेको अध्यक्ष शाक्यको भनाई छ । गण्डकी प्रदेश भित्रका पर्यटकीयस्थल, धार्मिक स्थल एवं लोक संस्कृतिक गतिविधिहरुको प्रचारप्रसार र प्रबद्र्धन गर्न, स्थानीय परिकारहरुलाई प्रबद्र्धन र स्तरीकरणमा बृद्धि गराउन, उद्यमी व्यवसायीहरुको वित्तिय साक्षरता बृद्धि गराउने र वित्तिय एवं औद्योगिक क्षेत्रको विकास बृद्धि मार्फत आर्थिक समृद्धिः सुखी नेपालीको लक्ष्य पुरा गराउन र स्थानीय खेलाडीहरुको व्यक्तिगत र सामाजिक अनुशासन स्थापित गराउँदै राष्ट्रिय खेलाडीलाई अन्तराष्ट्रिय खेलाडी बन्नको लागि उत्प्रेरणा प्रदान गर्न महोत्सवले सहयोग पुग्ने संघका निवर्तमान अध्यक्ष तथा सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक नरेश कंडेलले बताउनुभयो ।

महोत्सवबाट ‘बागलुङ उद्योग वाणिज्य संघ सदस्य कल्याणकारी कोष–२०८२’मा ५ लाख बराबर विनियोजन गर्ने, ‘व्यवसायी एकता, बलियो संघ’ अक्षयकोष निर्माण एवं वृद्धि गर्ने, ‘हाम्रो सुरक्षा, हाम्रो दायित्व’ सिसि क्यामरा जडान र मर्मत कार्यलाई निरन्तरता दिने, महोत्सवको मुनाफाबाट ‘बागलुङ कोसेली घर संचालन’मा रकम विनियोजन गर्ने अध्यक्ष शाक्यले बताउनुभयो । उहाँले महोत्सवमा टिकट काट्ने जिम्मा मानवसेवा आश्रम बागलुङलाई दिइएको र १ टिकट बराबर १० रुपैयाँ ‘मानवरहित सडक, हाम्रो अभियान’मा सहयोग गर्ने निर्णय गरिएको बताउनुभयो ।

टिकट विक्रीबाट ७० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको महोत्सवको टिकट दर एक सय रुपैयाँ रहेको र विद्यार्थीलाई ७० टिकट व्यवस्थापन गरिने अध्यक्ष शाक्यले बताउनुभयो । ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छभने विद्यालयहरुले सामुहिक रुपमा विद्यार्थीहरुलाई महोत्सव अवलोकनमा लैजाँदा पनि प्रवेश शुल्क नलाग्ने अध्यक्ष शाक्यको भनाई छ ।