
बागलुङ, २० कात्तिक । बागलुङमा बुधबार साँझ अटो रिक्सा दुर्घटना हुँदा चालकसहित पाँच जना घाईते भएका छन् ।
बुधबार बागलुङ नगरपालिका वडा नम्बर ४ गौरीधाम मन्दिरबाट बागलुङ बजार तर्फ आउँदै गरेको ग.प्र.०२००१ ह ००५५ नम्बरको अटो रिक्सा गौरीधाम मन्दिर नजिकै दुर्घटना हुँदा चालक सहित पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दुर्घटनामा अटो चालक बागलुङको जैमिनी नगरपालिका–३ बस्ने ५०वर्षीय चेतबहादुर छन्त्याल, ५५ वर्षीया बागमती थापा, ढोरपाटन नगरपालिका–६ बस्ने २३ वर्षीया सम्झना भण्डारी, ५० वर्षीया गौतम भण्डारी र १८ वर्षीय समिर थापा घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी केशव थापाले बताउनुभयो । घाईतेहरुको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको प्रनि थापाले जानकारी दिनुभयो । घाईतेहरुको टाउँको, हात, निधार र शरिरको विभिन्न भागमा चोट लागेको छ ।
अटो रिक्सा उकालोमा अचानक व्याक भई सडकदेखि अन्दाजी १० मिटर तल खसेको प्रनि थापाले बताउनुभयो । दुर्घटनामा अटो पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।










