
बागलुङ, १ कार्तिक । बागलुङमा जारी ‘अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागि निसीखोला गाउँपालिका र गलकोट नगरपालिका भिड्ने भएका छन् ।
शनिबार विहान सम्पन्न भएको सेमिफाइनल खेलमा निसीखोलाले ढोरपाटन नगरपालिकालाई ३–१ र गलकोटले काठेखोला गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा निसीखोलाले पहिलो सेट २५–१३ ले जितेपनि दोस्रो सेटमा ढोरपाटनले उत्कृष्ट पुनरागमन गर्दै १४–२५ ले आफ्नो पक्षमा पार्यो । निसीखोलाले तेस्रो सेट २७–२५ र चौथो सेट २५–२२ ले जित्दै उपाधि नजिक पुगेको हो ।
दोस्रो सेमिफाइनलमा गलकोटले २५–९, २५–१३ र २५–१६ ले जित्दै फाइनलमा पुग्यो ।
प्रतियोगिता अन्तरगत तृतीय हुने खेल र फाइनल खेल आज दिउँसो हुने प्रयितेगिताको व्यवस्थापक जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष किशोर थापाले बताउनुभयो ।
गतबुधबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका दसवटै पालिकाले सहभागिता जनाएका थिए ।
अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा आयोजित यस प्रतियोगिताको विजेता टिमले ट्रफी र मेडलसहित रु. दुई लाख, उपविजेताले रु. एक लाख, तेस्रो स्थान हासिल गर्ने टिमले रु. ५० हजार र सान्त्वना हुने टिमले रु. २५ हजार पुरस्कार पाउनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट टिम प्रशिक्षक र अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई ५/५ हजार प्रदान गरिने समाजका सचिव एवं प्रतियोगिताका संयोजक राजु थापाले बताउनुभयो ।








