
बागलुङ, ७ असोज । बागलुङमा संचालन भएको सृष्टी फर्निचर उद्योगले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त सरकारी संरचना पुननिर्माणका लागि १ लाख बढि रकम सहयोग गरेको छ । फर्निचरका संचालक ऋषिराम गौतमले आफ्नो व्यवसायको १४ औं वार्षिकोत्सवको अवसरमा जिल्ला प्रशासन कार्याल्य मार्फत नेपाल सरकारलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरेका छन ।
गौतमले झण्डै ५ करोड लगानीमा बागलुङ नगरपालिका—४ उपल्लाचौरमा नयाँ शोरुम सञ्चालनमा ल्याएसंगै शोरुमको शुभारम्भ कार्यक्रममा उक्त रकम बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले नेपाल सरकारको पुननिर्माण गर्ने खातामा उक्त रकम जम्मा गर्ने बताए । गौतमले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार सहित सयौंको संख्यामा क्षती भएका संरचना पुननिर्माणका निम्ती राज्यलाई सघाउन सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम सहयोग गरेको बताए ।
१४ वर्षदेखि बागलुङको फर्निचर व्यवसायमा सक्रिय गौतमले देशमा संकट परेको बेला सवै तहबाट सहयोग गरेमा यसलाई छिट्टैनै उठाउन सकिन्छ भन्ने लक्ष्यका साथ आफुले सानो सहयोग गरेको बताए । “देश दुखमा छ, धेरै भौतिक क्षति पुगेको छ, सबैले हातेमालो गरियो भने पुननिर्माणमा सहयोग पुग्ने छ,” गौतमले भने,“हामी जस्तै सवैले थोरै थोरै जम्मा ग¥यौं भने धेरै हुनेछ र पुननिर्माणमा सहज हुनेछ ।” गौतमले हाल फर्निचरमा ४२ जना युवालाई स्वदेशमै रोजगारी प्रदान गरेको बताउँछन ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले सवैको सहयोगले राज्यलाई ठुलो राहत हुने बताए । उनले देशमा संकट परेको बेला राज्यलाई सहयोग गर्नु हामी सवैको उत्तरदायित्व भित्र पर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ लगायतले व्यवसायिक सफलताको शुभकामना सहित संकटको बेला सहयोग गरेकोमा धन्यवाद प्रकट गरेका थिए । कार्यक्रम सञ्चालन फर्निचरका सञ्चालक सरिता गौतमले गरेकी थिईन । सृष्टि फर्निचरले बागलुङ बजारको जीपपार्कचोक र गलकोट हटियाबाट पनि सेवा प्रदान गरिरहेको छ ।











