बागलुङमा संविधान दिवस मनाइयो

बागलुङ, ३ असोज । बागलुङमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ विविध कार्यक्रम गरी मनाइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा शुक्रबार प्रभातफेरी तथा सहिदको सालिकमा माल्यार्पण गरि दिवस मनाइएको हो ।

बागलुङको ऐतिहासिक पार्कदेखि सुरु भएको प्रभातफेरी सहिद पार्कमा पुगेर कोणसभामा परिणत गरिएको थियो । कोणसभामा बोल्दै संविधान सभाका सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य चम्पादेवी खड्काले संविधानले नेपाली जनताले लामो संघर्षपछि निर्माण गरेको संविधान सवैले रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संवैधानिक मार्गबाट मुलुकको र समुन्नती र नयाँ पुस्ताको चाहना पुरा गर्न सकिने भएकाले संविधानको रक्षा गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले संविधानले नेपालीहरुलाई धेरै हक प्रदान गरेको बताउँदै संविधानको रक्षा गर्न र पालना गर्न सवैलाई अनुरोध गर्नुभयो । भ्रष्टचारको अन्त्य होस्, सुशासनको प्रत्याभुति, जनताप्रति जवाफदेहिता, विधिको सासन, नेतृत्वमा पुस्ताहस्तान्तरण, समावेशि लोकतन्त्र र थप सुद्धिकरणका लगायत जेनजीहरुका महत्वपूर्ण मागहरु सरकारले पुरा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

संविधानसभा सदस्य नरबहादुर थापाले यो संविधान नरहेमा देश गम्भीर मुडमा जाने बताउनुभयो । नेपालीहरुको हकहित र कर्तव्य उल्लेख गरिएको संविधान महत्वपूर्ण रहेकोले त्यसको रक्षा गर्नुपर्नेमा थापाले जोड दिनुभयो । उहाँले संविधानलाई समयसापेक्ष नेपाली जनताको आवश्यकता अनुसार परिमार्जित हुँदै जाने कानुन भएकाले त्यही अनुरुप परिमार्जित गर्दै लैजानुपर्ने बताउनुभयो ।

“संविधान समयसापेक्ष र नेपाली जनताको आवश्यकता अनुसार परिमार्जित गर्दै लग्नुपर्छ,” उहाँले भन्नुभयो,“जनताको माग अनुसार संविधान संशोधन गरेर मुलुकको रक्षा, सुरक्षा र नेपाली नागरिकको सर्वोच्चता राखिराख्न सफल हुनुपर्छ ।”

बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले संविधान जनताको जनजिविकासँग जोडिएको बताउनुभयो ।

उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष अधिवक्ता गीता श्रीषले संविधानको आधारमा अहिले विपिन्न समुदाय, दलित, महिलाहरु स्थानीयदेखि संघ सरकारसम्म पुग्ने अधिकार प्राप्त भएको बताउँदै संविधान जोगाउन आवश्यक रहेको बताउनुभयो ।

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अहिलेको संविधान उत्कृष्ट रहेको बताउनुभयो । उहाँले २०७२ सालको संविधानमा नागरिक र सरकार पक्ष सवैको काम, कर्तव्य र अधिकार स्पष्ट उल्लेख गरिएको बताउनुभयो । कार्यक्रममा सहिद पार्कमा रहेका सहिदका सालिकमा माल्र्यापण गरिएको थियो ।

बागलुङमा संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको नेतृत्वमा तीन दिने कार्यक्रम आयोजना गरि संविधान दिवस मनाइएको हो । पहिलो दिन बिहिबार अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण, धौलागिरी प्रादेशिक अस्पतालका विरामीलाई फलफुल वितरण र मानवसेवा आश्रममा खाद्यान्न वितरण गरिएको थियो । यस्तै आज शुक्रबार साँझ ऐतिहासिक पार्कमा दिप प्रज्वलन गरिएको आयोजक समितिका संयोजक अमरबहादुर थापाले बताउनुभयो ।