बागलुङमा जेसीज सप्ताह सुरु

सुजन रेग्मी
बागलुङ, १९ भदौ । बागलुङमा बुधबारदेखि जेसीज सप्ताह सुरु भएको छ । युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीजले यसबर्ष पनि बिभिन्न कार्यक्रमका साथ जेसीज सप्ताह सुरु गरेको हो ।

सप्ताहको उद्घाटन गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले नेतृत्व भए मात्र कुनै पनि कार्य सफलतापूर्वक सम्पन्न हुने उल्लेख गर्नुभयो । उहाँले जेसीजले समाजमा राम्रो काम गर्दै आएको बताउँदै व्यक्ति शासन नभई विधिको शासन हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रजिअ गुरुङले देश विकास भएपनि युवापलायन बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जेसीजका कार्यकारी उपाध्यक्ष सौरभ के.सी., बागलुङ नगरपालिका वडा नम्बर २ का अध्यक्ष सुरज बोसेल, उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्य, स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पसकी अध्यक्ष आस्मिन शेख र बागलुङ जेसीजका लिडर अध्यक्ष ऋषिराम गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जेसीज सप्ताहको पहिलो दिन दुई जना युवालाई सम्मान गरिएको छ । बागलुङ नगरपालिका वडा नम्वर २ मा ड्राइक्लिनर्स संचालन गर्दै आउनुभएकी शर्मिला पौडेल र यातायात व्यवस्था कार्यालय बागलुङकी प्रमुख गुमादेवी शर्मालाई युवा सम्मानबाट सम्मानित गरिएको हो । युवा अवस्थामा उद्यम गरेर उत्कृष्ट बनेकी पौडेलले ड्राइक्लिनर्समार्फत नियमित सेवा संचालन गरिरहनुभएको छ ।

शर्मा भने सानो उमेरमा सरकारी सेवाको अधिकृतमा प्रवेश गरेर उपसचिव हुँदै यातायात व्यवस्था कार्यालय बागलुङको प्रमुखमा कार्यरत हुनुहुन्छ । बागलुङ नगरपालिका १३ की शर्माका ६ भाईबैनी मध्य ४ दिदीबहिनी र एक भाइले सरकारी सेवामा नाम निकालेर काम गर्न सफल हुनुभएको छ ।

बागलुङ जेसीजका पूर्वअध्यक्ष दिवाकर श्रेष्ठले स्थापना गरेको उक्त पुरस्कार हरेक वर्ष जिल्लामा रहेर युवाहरूमाझ उत्कृष्ट काम गर्ने व्यक्तिलाई प्रदान गर्दै आइएको बागलुङ जेसीजका कानुनी सल्लाहकार ताराप्रसाद शर्माले बताउनुभयो ।

यस्तै बागलुङ जेसीजले पूर्वअध्यक्षहरुलाई समेत सम्मान गरेको थियो । जेसीज बागलुङका पूर्वअध्यक्ष मनमोहन श्रेष्ठ, सुदिप राजभण्डारी, निलेश राजभण्डारी, पार्वती अधिकारी, सुजन श्रेष्ठ र जोन बज्राचार्यलाई सम्मान गरिएको थियो ।

बागलुङ जेसीज वर्ष २०२५ का अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन स्वीकृति भारीले गर्नुभएको थियो ।