पुष्पलालको स्मृति दिवसमा बागलुङमा वृत्तचित्र प्रदर्शन

बागलुङ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा बागलुङमा वृत्तचित्र प्रर्दशन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङले श्रेष्ठको स्मृति दिवसमा बुधबार जीवनी र कम्युनिष्ट पार्टीको स्थापना सम्बन्धी नेकपा एमालेले १० औं महाधिवेशनमा र विभिन्न संचार माध्यमले निर्माण गरेका बृत्तचित्र प्रदर्शनी गरेको हो । वृत्तचित्रमा पुष्पलालको राजनीतिक जीवन, विचार, योगदान तथा नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँको ऐतिहासिक भूमिका उजागर गरिएको थियो । जसले सहभागीहरुलाई उहाँको दर्शन र संघर्ष सम्झाउने काम गरेको छ ।

नेकपा एमाले बागलुङका सचिव गणेश थापाले नेपाली कम्युनिष्टहरूले पुष्पलालले देखाएको मार्ग अनुसरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘पुष्पलालले जनताको जीवन परिवर्तन हुनुपर्छ भनेर सुरू गर्नुभएको आन्दोलन आजको सन्दर्भमा अझ सान्दर्भिक छ,’ उहाँले भन्नुभयो,‘अब मूल्यांकन गरिनुपर्छ, आम नागरिकको जीवन साँच्चै परिवर्तन भयो त ?’

सचिव थापाले वर्तमानमा बिभाजित कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक रहेको धारणा पनि राख्नुभयो । थापाले कम्युनिष्ट आन्दोलनको उद्देश्य र वर्तमान चुनौतीका बीच पार्टीहरूबीच एकता अपरिहार्य रहेको धारणा पनि राख्नुभयो ।

वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा जन्मिनुभएको पुष्पलालको नेतृत्वमा नेपालमा वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । पुष्पलालले श्रमिक वर्गको हित सुनिश्चित गर्नु र सामाजिक न्यायसहितको समावेशी समाज निर्माण गर्ने उद्देश्यले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।

राजनीतिक जीवनभर जनताको पक्षमा क्रान्तिकारी विचार बोकेर अगाडि बढ्नुभएका पुष्पलालको निधन वि.सं. २०३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा भएको थियो । पुष्पलालले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८)को पहिलोपटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो ।

वृत्तचित्र प्रदर्शन कार्यक्रम नेकपा एमाले बागलुङका सचिव गणेश थापाको अध्यक्षता र उपसचिव धनबहादुर परियारको संचालनमा सम्पन्न भएको थियो ।