
बागलुङ, १७ जेठ । बागलुङमा जारी दोस्रो संस्करणको एसइइ स्तरीय आदर्श कप छात्र/छात्रा फुटबल प्रतियोगितामा समुह चरणका खेल सकिएका छन् ।
प्रतियोगिताको तेस्रो दिन शनिबार चार खेल सम्पन्न भएसँगै छात्र तर्फ समुह चरणका खेल सम्पन्न भए । शनिबार न्यू एभरेष्ट एकेडेमी ‘ए’, प्रिसियस एकेडेमी, सनराइज बोर्डिङ स्कुल र गुराँस विद्या सदनले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
तेस्रो दिनको पहिलो खेलमा न्यु एभरेष्टले सिद्वार्थ शिक्षा सदनलाई ट्राइबेकरमा ३–२ ले पराजित गर्यो । न्यु एभरेष्टको जितमा पेनाल्टी सुटआउटमा सुसन बोहरा, सक्षम बोहरा र नवीन काफ्लले गोल गर्दा निकेश श्रेष्ठको प्रहार सिद्वार्थका गोलरक्षकले बचाउ गरे । सिद्वार्थका सचिन खत्री, एलेक्स थापा र प्रविन थापा गोल गर्न चुक्दा अमृत कार्की र रिजनले मात्र गोल गर्न सफल भए ।
यस्तै दोस्रो खेलमा प्रिसियसले आयोजक आदर्श विद्यामन्दिर ‘सेतो’लाई १–० गोलअन्तरले पराजित गर्यो । दोस्रो हाफको दोस्रो मिनेटमा प्रसिद्ध रिजालले गरेको गोल नै प्रिसियसको जितमा निर्णायक बन्यो ।
यस्तै तेस्रो खेलमा विद्यामन्दिर माध्यमिक विद्यालयलाई सनराइज बोर्डिङ स्कुलले ०–१ गोलअन्तरले पराजित गर्यो । खेलको २५ औं मिनेटमा प्राप्त फ्रिकिकमा सनराइजका निर्मल केसीले गरेको गोल जितमा निर्णायक बन्यो ।
शनिबार भएको चौथो खेलमा गुराँस विद्या सदनले होली चाइल्ड बोर्डिङमाथि फराकिलो जित निकाल्यो । एकतर्फी खेलमा गुराँसका सिर्जन शर्माले ह्याट्रिकसहित चार गोल गर्दा निलभ खड्काले दुई र आशिष तामाङले एक गोलको योगदान गरे । पहिलो हाफको छैठौं मिनेटमा गोल गर्दै खाता खोलेका सिर्जनले पहिलो हाफको २६ औं, दोस्रो हाफको १५ औं मिनेटमा गोल गर्दै प्रतियोगितामा पहिलो ह्याट्रिक गरे । दोस्रो हाफको २४ औं मिनेटमा सिर्जनले व्यक्तिगत चौथो गोल गरे । निलभले पहिलो हाफको १४ औं मिनेट र दोस्रो हाफको १६ औं मिनेटमा गोल गरेभने आषिकले पहिलो हाफको २० औं मिनेमा गोल गरे ।
चौथो दिन आइतबार सेमीफाइनल प्रवेशका लागि गरिमाले न्यु एभरेष्ट एकेडेमी ‘बि’, आदर्श विद्यामन्दिर ‘निलो’ले न्यु एभरेष्ट एकेडेमी ‘ए’, चिल्ड्रेन लाइफले प्रिसियस एकेडेमी र गुराँसले सनराइजको सामना गर्ने आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिनुभयो । प्रतियोगिताको छात्रातर्फ भने फाइनल प्रवेशका लागि सोमबार न्यु ओयसिसले रुद्रेपिपल मावि र आयोजक आदर्श विद्यामन्दिरले चिल्ड्रेन लाइफसंग प्रतिष्पर्धा गर्ने छन् ।
प्रतियोगितामा छात्रतर्फको विजेता टोलीले नगद ७५ हजार ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद ३७ हजार ५ सयसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै, छात्रा तर्फको विजेता टोलीले नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद १५ हजार रुपियाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेल जेठ २० गते मंगलबार हुने अध्यक्ष केसीले बताउनुभयो ।








