लोकतन्त्र र गणतन्त्रको बिकल्प राजतन्त्र हुनै सक्दैनः केसी

बागलुङ, २६ वैशाख । राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको बिकल्प राजतन्त्र हुनै नसक्ने बताउनुभएको छ ।

केसीले जनताको लामो बलिदानी पूर्ण सघर्षबाट राजन्त्रको अन्त्य भै लोकतन्त्र र गणतन्त्र स्थापना भएकाले अव राजतन्त्र फर्काउछौ भनेर कुर्लनु जनता र देशको चाहान बिपरित हुने बताउनुभयो ।

प्रतिगामी खतरा बिरुद्ध संघर्ष गरौ, गणतन्त्रको रक्षा गरौं भन्ने नाराका साथ केन्द्रीय संघर्षको कार्यक्रम अन्तरगत बागलुङ बजारमा आयोजित बिरोध सभामा बोल्दै केसीले प्रतिगामिहरु र राज्य संचालन गर्नेहरुबाट देश संकटमा पर्दै गएको आरोप लगाउनुभयो ।

जनता र देशको हितमा राज्य संचालन गर्नेहरुले काम गर्न नसकेका कारण राजतन्त्रवादीहरु सलवलाउन थालेको बताउँदै केसीले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि राष्ट्रवादी शक्तिहरु एकठाउँ हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

राजनैतिक दलबिचको मतभेद भएतापनि परिवर्तनको हरेक आन्दोलनमा राष्ट्रवादी शक्तिहरु एकठाउँमा उभिएको स्मरण गर्दै केसीले अव पनि एकजुट भएर प्रतिगामी खतराका बिरुद्ध संघर्ष गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले संघियताका कारण देशको आर्थिक अवस्था कमजोर बन्दै गएकाले यसको खारेज आवश्यक रहेकोमा जोड दिनुभयो ।

गणतन्त्र माथि खतरा बढनुमा राजाबादी शक्ति मात्रै जिम्मेवार नभई अहिलेसम्म सत्तामा रहेर नागरिकको चाहना अनुसार काम गर्न नसक्नु, भ्रष्टाचार बढ्दै जानु, नागरिकले सुशासनको प्रत्याभूति हुने गरि सुधार गर्न नसक्नु पनि जिम्मेवार रहेको उहाँको भनाई थियो ।

सत्तासिन पार्टीहरुले आफुलाई सिद्धान्तमा गणतन्त्रबादी घोषणा गरेपनि शासन गर्ने कार्यशैली र व्यवहारले गणतन्त्रप्रति जनताको बिश्वास घट्दै गएकोमा उहाँको चिन्ता थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी र जिल्ला समितिका सल्लाहकार भिमसेन बनले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम जिल्ला अध्यक्ष तिलक थापाको अध्यक्षता, सचिवालय सदस्य लक्ष्मी बास्कोटाको स्वागत र सचिव भिमलाल पोखरेलको संचालनमा सम्पन्न भएको थियो । जनमोर्चाले बैसाख २० गतेदेखि २६ गतेसम्म पालिका स्तरीय बिरोधको कार्यक्रम संचालन गरेको थियो ।