सरकारमा माओवादीको दावी छैनः महाविच गुरुङ

बागलुङ, १९ वैशाख । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारमा माओवादीको कुनै दावी नरहेको बताउनुभएको छ ।

प्रेस सेन्टर बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका महासचिव गुरुङले सरकार आफ्नै कारण लामो समय चल्न नसक्ने हो की भन्ने आशंका व्यक्त गरेपछि माओवादी केन्द्रको सरकारमा जाने कुनै प्रकारको दावी नरहेको बताउनुभयो । ‘सत्ता गठबन्धनले २०८४ सम्मै सरकार चलाए हुन्छ,’ महासचिव गुरुङले भन्नुभयो,‘माओवादी सरकारमा जाँदैन । तर, सरकारको आफ्नै कारणले लामो समय चल्दैन की भन्ने आशंका छ ।’

गुरुङले अहिलेको समयमा सरकारको कामका आधारमा सचेत, जागरुक र खबरदारी गराएको बताउनुभयो । ‘हाम्रो पार्टी प्रतिपक्षमा छ’, गुरुङले भन्नुभयो,‘सदन, सडकबाट सरकारलाई सजक, सचेत र खबरदारी गरिरहेका छौं ।’ उहाँले डेमोक्रेसी, राष्ट्रियताको रक्षा र सुशासन कायम राख्नपर्ने अभियानमा आफुहरू रहेको बताउनुभयो । वृहत शान्ति सम्झौता र गणतन्त्रका पक्षधरमा रहेको घटकहरू विखण्डित भएको अवस्थामा राजतन्त्रवादीहरू सलबलाएको उहाँको भनाई छ ।

महासचिव गुरुङले माओवादी केन्द्रले गतचैत १५ गते गणतन्त्रको पक्षमा जनतालाई उतारेपछि राजावादीको आन्दोलन ओझेलमा परेको बताउनुभएको छ । ‘हामी प्रतिपक्षमा भएता पनि केही न केही खबरदारी गर्नुपर्छ भनेर प्रतिगमन, यथास्थीतीको विरुद्धमा गतचैत १५ गते बृहत रुपमा सभा ग¥यौ,’ उहाँले भन्नुभयो,‘झण्डै लाखको वरिपरि अत्यन्तै शानदार, भव्य सभा गरेपछि दरवारियाहरुले जुन रुपमा राजतन्त्रको पक्षमा, संविधानको विपक्षीमा क्याम्पेन चलाइराखेका थिए । त्यसलाई ओझेलमा पार्न सफल भयो ।’

महासचिव गुरुङले तत्कालको अवस्थामा राजावादीले अगाडि बढ्न सक्ने अवस्था नरहेको दाबी गर्नुभयो । ‘तत्कालको अवस्थामा राजावादीहरु अगाडी बढ्न सक्ने अवस्था छैन,’ उहाँले भन्नुभयो,‘सरकारीको गतिविधिका कारण भविष्यमा गणतन्त्रको विरोधमा आवाज नउठ्ला भन्न सकिने अवस्था छैन् ।’