बढ्दै नसर्ने रोगका बिरामी

अर्जुन कार्की
बागलुङ, ४ बैशाख । बागलुङमा पछिल्लो समय नसर्ने रोग लागेका बिरामीको संख्या बढेको पाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार ब्लड प्रेसर, उच्च रक्तचाप र मिर्गौला रोगका बिरामी गतवर्षको तुलनामा यस वर्ष बढेको पाइएको हो ।

परीक्षणको दायरा बढाउँदा विरामीको संख्या बढ्दो देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी तथा क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । सरकारले फागुन महिनामा नसर्ने रोगको स्क्रिनिङ अभियान संचालन गरेको थियो । उक्त महिना बागलुङका स्थानीय तहमा परीक्षणको दायरा बढाउँदा विरामीको संख्यामा वृद्धि देखिएको हो ।

सूचना अधिकारी घिमिरेका अनुसार फागुन महिनामा आठ हजार एक सय चार जनाको स्क्रिनिङ गर्दा एक हजार पाँच सय १४ जनालाई उच्च रक्तचाप, पाँच सय ३० जनालाई मधुमेह, एक सय ९ जनालाई मिर्गौलाको रोग र एक हजार दुई सय ६३ जनालाई मोटोपना देखिएको हो । उहाँले परीक्षणको दायरा बढाउँदा विरामीको संख्या अझै बढ्न सक्ने बताउनुभयो । ‘सर्ने रोग भन्दा नसर्ने रोगका विरामीहरुको संख्या बढ्दो छ,’ उहाँले भन्नुभयो,‘परीक्षणको दर केही बढाउँदा जिल्लामा विरामीको संख्यामा वृद्धि भएको देखिएको छ । परीक्षण नहुँदा विरामीहरु समुदायमै रहेका छन् ।’

फागुन महिनामा बागलुङका नौं स्थानीय तहमा नसर्ने रोगको निःशुल्क स्क्रिनिङ गरिएको थियो । उक्त अभियानबाट जैमिनी नगरपालिकामा चार सय ३७ जनालाई उच्च रक्तचाप, एक सय ९२ जनालाई मधुमेह, ११ जनालाई मिर्गौलाको रोग र ४ सय ७१ जनालाई मोटोपना देखिएको छभने बागलुङ नगरपालिकामा दुई सय तीन जनालाई उच्च रक्तचाप, ९९ जनालाई मधुमेह, ७ जनालाई मिर्गौलाको रोग र २ सय ६४ जनालाई मोटोपना देखिएको छ । यसैगरी ढोरपाटन नगरपालिकामा एक सय ६० जनालाई उच्च रक्तचाप, ३३ जनालाई मधुमेह, २६ जनालाई मिर्गौलाको रोग र एक सय ६७ जनालाई मोटोपना देखिएको छ । काठेखोला गाउँपालिकामा तीन सय ९६ जनालाई उच्च रक्तचाप, एक सय २ जनालाई मधुमेह, ६२ जनालाई मिर्गौलाको रोग र २ सय १० जनालाई मोटोपना देखिएको छ ।

गलकोट नगरपालिकामा ७१ जनालाई उच्च रक्तचाप र सात जनालाई मधुमेह रोग देखिएको छभने बडिगाड गाउँपालिकामा ९२१ जनालाई उच्च रक्तचाप, ३१ जनालाई मधुमेह र ३७ जनालाई मोटोपना देखिएको छ । निसीखोला गाउँपालिकामा ३ जनालाइृ उच्च रक्तचाप १ जनालाई मधुमेह र पाँच जनालाई मोटोपना, तमानखोला गाउँपालिकामा ३७ जनालाई उच्च रक्तचाप, ४१ जनालाई मधुमेह र ४५ जनालाई मिर्गौलाको रोग देखा परेकोछभने बरेङ गाउँपालिकामा एक सय १५ जनालाई उच्च रक्तचाप, २४ जनालाई मधुमेह, ३ जनालाई मिर्गौलाको रोग र ६२ जनालाई मोटोपना देखिएको छ । ताराखोला गाउँपालिका स्क्रिनिङ गरिएको थिएन । स्क्रिनिङमा फेला परेका एक हजार छ सय ९३ जना विरामीको उपचार गरिएको र सात सय १० जनालाई थप उपचारको लागि अस्पताल जान सल्लाह दिइएको घिमिरेले बताउनुभयो ।

बागलुङमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म तीन हजार एक सय ३७ जनालाई उच्च रक्तचाप, आठ सय एक जनालाई मधुमेह र चार सय ९७ जनालाई दमको रोग देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटाले बताउनुभयो । उहाँले गतआर्थिक वर्ष २०८०÷०८१ मा तीन हजार तीन सय नौ जनामा उच्च रक्तचाप, सात सय ८७ जनालाई मधुमेह र तीन सय दुई जनालाई दम रोग देखा परेको जानकारी दिनुभयो ।

सर्ने रोग भन्दा नसर्न रोग निकै जटिल हुने चिकित्सकहरुको भनाई रहेको छ । पछिल्लो समय बागलुङमा निरन्तर रुपमा नसर्ने रोगका बिरामीको संख्या बढी रहेको छ । जिल्ला स्वास्थ्य कार्यलयका बागलुङले यस्ता नसर्ने रोग नियन्त्रण गर्नका लागी गाउँ–गाउँमा जनचेतना अभिवृद्धि गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घिमिरेले बताउनुभयो ।

पछिल्लो समय बढ्दै गएको फरक जीवनशैलीका कारण नसर्ने रोगका बिरामीको संख्या पछिल्लो समय बढ्दै गएको धौलागिरी प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर किरण तिवारीले बताउनुभयो । ‘नसर्ने रोग लाग्नुको प्रमुख कारण खराब जीवनशैली र खानपान नै हो । जसमध्ये अत्यधिक धूम्रपान, मध्यपान गर्नु, अल्छीपना अर्थात् शारीरिक व्यायाम नगर्नु, प्रदूषण, गलत खानपान आदि कारक तत्व हुन्,’ उहाँले भन्नुभयो,‘अहिले नेपालमा उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सर लगायत रोगका बिरामीको संख्या ह्वात्तै बढ्नुको कारण जीवनशैलीमा हेल्चेक्र्याइँ गर्नुले नै हो ।’

डा. तिवारीले नसर्ने रोग लाग्न नदिन खानपानमा ध्यान दिनुपर्ने र शारीरिक व्यायाम नियमित गर्नुपर्ने बताउनुभयो । ‘पहिले धेरै शारीरिक व्यायाम गर्ने, घरमा उत्पादन गरेका खानाहरु खाने गरेको कारण नसर्ने रोगका विरामीहरु कम थिए,’ उहाँले भन्नुभयो,‘रोग लाग्न नदिन नियमित शारीरिक व्याम गर्नुपर्छ, नुन कम खाने, रातो मासु भन्दा माछा खाने गर्नुपर्छ ।’ डा. तिवारीले समय समयमा रगत परीक्षण गर्न र क्यान्सर रोग छभने स्क्रिनिङ गर्न सुझाव दिनुभयो ।