ऋण तिर्न प्रेरित गर्न सहकारी पुराण !

सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङले मंगलबार गरेको सहकारी पुराण कार्यक्रम ।

बागलुङ, २७ चैत । बागलुङमा सहकारी प्रतिको नकरात्मक भ्रम चिरेर ऋणीलाई ऋण तिर्न प्रेरित गर्न सहकारी पुराण लगाइएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्था बागलुङले मंगलबार सहकारीबाट ऋण लगेर ऋण तिर्न कठिन भएका सदस्यहरुको ग्रह शान्ति गर्न र सदस्यहरुलाई जागरुक बनाउन पुराण लाएको हो ।

सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले ऋण लगेकाले नतिर्ने र बचतकर्ताले विश्वास नगर्ने भएपछि पुराण लगायरै सचेत गराइएको बताउनुभयो । उहाँले सदस्यलाई जागरण बनाउन सकेमा मात्रै सहकारीको भविश्य राम्रो रहेको भन्दै सहकारीले सदस्यमैत्री भएर काम गरिरहेको बताउनुभयो ।

अध्यक्ष पौडेलले पछिल्लो समय सहकारीले गरेको राम्रो काम ओझेलमा परेको प्रति चिन्ता व्यक्त गर्नुभयो । ‘नेपालमा ३२ हजार सहकारी संस्था छन् । जसमध्य पाँच सय देखि एक हजार सहकारी विग्रेका होलान् । ३१ हजार सहकारीले राम्रो काम गरिरहेका छन्,’ अध्यक्ष शर्माले भन्नुभयो,‘३१ हजार सहकारीले राम्रो काम गरेको ओझेलमा पारेर एक हजार बिग्रेका नराम्रो कामको पछि हिड्का छन् । हामीले नकरात्मक मात्र कुरा नगर्नुस् भन्न पुराण लगाएका हौं ।’

सदस्यलाई जागरण बनाउन सकेमा मात्रै सहकारीको भविश्य राम्रो रहेको अध्यक्ष शर्माको भनाई छ । उहाँले सहकारले सदस्यमैत्री भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । सिवाईसीले सदस्य जागरण गर्न र ऋणीहरुलाई ऋण तिर्न प्रेरित गर्न पुराण लगाएको शर्माको भनाई छ ।

सहकारीको ऋण नतिर्नेलाई कालोसुचिमा राख्ने प्रावधानले सहकारी अभियानलाई खुसी तुल्याएको अध्यक्ष शर्माले बताउनुभयो । ‘ऋण लगेर नतिर्दा सामाजिक रुपमा बहिस्कारमा त परिन्छनै, ऋण नतिर्नेलाई धार्मिक रुपमा समेत पाप लाग्ने, कल्याण नहुँने र नर्कमा जाने कुरा पुराण लगायर पण्डितको मुखारबिन्दुबाटै सुनाइएको छ,’ शर्माले भन्नुभयो,‘सहकारीको ऋण नतिर्नेलाई कालोसूचिमा राख्ने प्रावधानले सहकारी अभियानलाई खुसी तुल्याएको छ ।’ सहकारीले सदस्यमैत्री सेवा दिएमा हल्लाका भरमा सहकारी नडुब्ने बताउँदै सदस्यलाई भ्रमबाट मुक्त गर्न सदस्य जागरण अभियान संचालन गरिएको बताउनुभयो ।

सहकारी पुराण कार्यक्रममा प्रवचन दिँदै यतिराज आश्रम सहश्रधारा पर्वतका पिठाधिश्वर स्वामी नारायणाचार्यले वेदमा नै सबैले सबैको भलो गर्नुपर्ने लेखिएको बताउँदै ऋण लिएर नतिर्नेको कल्याण नहुने बताउनुभयो । ‘बेदमा सवैले सवैको भलो गर्नुपर्ने लेखिएको छ,’ नारायणाचार्यले भन्नुभयो,‘कसैको रकम फिर्ता गर्ने सर्तमा लिइन्छ भने सर्त अनुसार फिर्ता गर्नुपर्छ । फिर्ता नगरेमा कल्याण हुँदैन ।’ उहाँले ऋण नतिर्दा हुन सक्ने मानसिक र सामाजिक क्षतिको विषयमा समेत जानकारी लिन सदस्यलाई आग्रह गर्नुभयो ।

सहकारी पुराणमा प्रवचनसंगै भजन कृतन समेत प्रस्तुत गरिएको थियो । सिवाईसीले ऋण संकलन गर्न र सदस्यहरुलाई क्रियाशिल बनाइराख्न चैत १३ गतेदेखि सदस्य जागरण कार्यक्रम संचालन गरिरहेको छ ।