चैते दशैंमा कालिका भगवती मन्दिरमा भक्तजनको भिड (फोटो फिचर)

बागलुङ, २३ चैत । चैत्राष्टमीको दिन बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । चैतेदशैं समेत भनिने नवरात्र पर्वको मुख्यदिन शनिवार चैत्राष्टमी पर्वको दिन मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको हो ।

देशकै प्रसिद्ध शक्तिपीठको रुपमा परिचित बागलुङ कालिका मन्दिरमा चैते दशैको दिन देशभरबाट भक्तजनहरुको उपस्थिति रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष डा. कुमार खड्काले बताउनुभयो । उहाँले बागलुङ कालिकामा पुजाअर्चना गर्नाले मनोकांक्षा पुरा हुने विश्वासका साथ देशभरका हिन्दु धर्मावलम्बीहरु मन्दिरमा आउने गरेको बताउनुभयो । ‘चैत्राष्टमी अवधिभर नै मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्दछ,’ अध्यक्ष खड्काले भन्नुभयो,‘अघिपछि १ वटा ढोकाबाट मात्र पुजाअर्चना गर्ने गरिएपनि चैत्राष्टमीमा तीन वटै ढोकाबाट पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ ।’

चैत्राष्टमीको दिन काठमाडौँ, पोखरा, पर्वत, म्याग्दी, चितवन लगायत देशभरबाट मन्दिर दर्शनका आएका छन् । पछिल्लो समय चैत्राष्टमीको बेला १०, १५ प्रतिशत भारतीय भक्तजनहरु पनि वृद्धि भएको अध्यक्ष खड्काले बताए । मन्दिरमा चैते दशैंको दिन पुजाआजाको लागि भक्तजनहरुको लाइन लागेको छ ।

चैते दशैंमा कालिका मन्दिरमा विशेष पूजाआराधाना हुने हुँदा भक्तजनहरुको भिड् लाग्ने गरेको अध्यक्ष खड्काले बताउनुभयो । ‘चैते दशैंमा बागलुङ कालिका मन्दिरमा विशेष पूजाआराधना हुन्छ,’ अध्यक्ष खड्काले भन्नुभयो,‘दर्शनार्थीको भीड र मन्दिर परिसरमा लाग्ने चैते दशै मेलालाई मध्यनजर गर्दै स्वयंसेवक सहित सुरक्षाकर्मी समेत परिचालन गरिएको र मन्दिर परिसरभरी सिसि टिभि जडान गरिएकोले दर्शनार्थीले ढुक्क भएर मन्दिरमा पुजा गर्न मिल्ने बातावरण छ ।’

चैते दशैंको दिन मन्दिर प्रवेशद्वार देखि मन्दिरभरी नै भक्तजनहरुको घुइचो रहेको छ । मन्दिरमा कालिगण्डकी नदीको गंगाको स्नानको लागि नौं धारा समेत निर्माण गरिएको छ । उक्त स्थानमा स्नानमा भक्तजनको भिड छ।

कालिका मन्दिरमा महाष्टमी र महानवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने चलन छ । मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोसमेत बलि दिइन्छ । पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ ।

मन्दिर पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग १५९१ मा गरिदिएपछि छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास रहेको अध्यक्ष खड्काले बताउनुभयो ।

कालिका भगवती मन्दिरमा बर्षको दुई पटक चैते दशैं र वडा दशैंमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । मन्दिरमा माघ र साउन महिना बाहेक वर्षभरी नै दर्शनार्थीको चहलपहल हुने गर्दछ । मन्दिरमा प्रत्येक मंगलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीहरुमा भक्तजनहरुको बढी भिड् लाग्ने अध्यक्ष खड्काले बताउनुभयो । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरुको भीड कम हुने गरेको अध्यक्ष खड्काको भनाई छ । कालिका भगवती मन्दिरलाई अहिले पुनर्निर्माण गरी कलात्मक स्वरुपमा परिवर्तन गरिएको छ ।

चैत्राष्टमीको अवसरमा गुठी व्यवस्थापन समितिले मन्दिर परिसरमा परम्परागत रुपमा हरेक वर्ष हुँदै आएको एतिहासिक चैत्राष्टमी मेला संचालन गरेको छ । चैत २० गतेदेखि सुरु भएको मेलामा भलिबल प्रतियोगिता, लोकदोहोरी गीत प्रतियोगिता, खुल्ला छेलो फाल्ने प्रतियोगिता संचालन भएका छन् । मेला चैत २५ गतेसम्म संचालन हुने अध्यक्ष खड्काले बताउनुभयो ।

चैत्राष्टमीको अवसरमा मन्दिको दर्शन गर्न मात्र नभई आफुलाई स्थानीय उत्पादनहरु ठेका, डाला नाङ्ला, डोको लगायतका घरेलु उत्पादन विक्री गर्नको लागि गाउँ–गाउँबाट आएका छन् । मन्दिर परिसरमा बागलुङका गाउँ–गाउँबाट ल्याइएका स्थानीय उत्पादनहरु विक्रीको लागि राखिएको छ ।

-तस्विरः अर्जुन कार्की