
बागलुङ, १५ चैत । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा शुक्रबार बागलुङका पत्रकारहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना र प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ, बागलुङ नगर स्वास्थ्य शाखा र युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) धवलागिरीको सहकार्यमा पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको हो । शिविरमा पत्रकारहरुको मिर्गौला, मधुमेह, युरिक यसिड, कोलेस्ट्रोल, बिएमआई (बडी मास इन्डेक्स), उच्च रक्तचाप र महिला पत्रकारहरुको पाठेघरको मुखको स्क्रिनिङ गरिएको पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले बताउनुभयो ।
जिल्लाका ५५ जना बढी पत्रकारहरुले शिविरबाट लाभ उठाएको पत्रकार महासंघका अध्यक्ष थापाले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षणमा पत्रकारहरुलाई स्वस्थ जीवनशैली अपनाउन, खानपानमा ध्यान दिन, शारीरिक व्यायम गर्न स्वास्थ्यकर्मीहरुले सल्लाह दिनुभएको थियो ।
महासंघको स्थापना दिवसको अवसरमा जिल्ला शाखा बागलुङले शुक्रबार विहान कार्यालय परिसरमा सरसफाई समेत गरेको थियो । शनिबार दिवसको दिन विहान प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको पत्रकार महासंघ बागलुङले जनाएको छ ।







