
बागलुङ, १० चैत । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी तत्काल सरकारमा नजाने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिले शनिबार आयोजना गरेको जनयुद्ध, संविधान र समाजवाद विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी तत्काल सरकारमा जान नहुने र आफ्नै वर्ग तर्फ फर्केर जनताको सेवा गर्न तयार हुनुपर्नेमा जोड दिनुभएको थियो । ‘पार्टीलाई जनचाहाना अनुसार शुद्धीकरण, सुदृढीकरण र संस्थागत विकास गर्न नेतृत्वमा रहेका सबै कमरेडहरु तयार हुनुपर्छ,’ उहाँले भन्नुभयो,‘तत्काल पार्टी सरकारमा जान हुँदैन । आफ्नै वर्ग तर्फ फर्केर जनताको सेवा गर्न सवै तयार हुनुआवश्यक छ ।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीभित्र मौलाएको गुट, व्यक्तिवाद र गैरसर्वहारा प्रवृत्ति अन्त्य गर्नुपर्ने र पार्टी शुद्धीकरण अभियान नेतृत्व तहबाटै सुरु गरिनुपर्नेमा जोड दिनुभयो । ‘पार्टीभित्र मौलाएको गुट, व्यक्तिवादी र गैरसर्वहारा प्रवृति अन्त्य गर्न अगाडी बढ्नुपर्छ,’ उहाँले भन्नुभयो,‘व्यक्तिवादी र गुटमा पार्टी अल्झिएको छ । अब त्यसलाई बदल्नु आवश्यक छ ।’
पूर्वउपप्रधान तथा पूर्वगृहमन्त्री समेत रहनुभएका श्रेष्ठले देशले जवाफदेही र पारदर्शी नेताको खोजी गरेको बताउनुभएको छ । देशलाई प्रतिगमनबाट जोगाउँदै आर्थिक समृद्धि तर्फ लग्न र समाजवादको आधार तयार गर्न आवश्यक रहेको उहाँको भनाई छ । उहाँले प्रतिगामीहरुलाई नहौसिन चेतावनी समेत दिनुभयो । उहाँले देशमा पछिल्लो समय प्रतिगामीहरु सल्बलाउन खोजेको बताउँदै नहौसिन चेतावनी समेत दिनुभयो ।
श्रेष्ठले नेपालको बजेट समेत वैज्ञानिक र न्यायिक नभएको टिप्पणी गर्नुभयो । उहाँले जनताले चाहेअनुसार विकास दिन नसक्दा असन्तुष्टि चुलिएको बताउँदै योजनावद्ध र प्रभावकारी योजना बनाएर कार्यान्वयन गरेर जनताले नेतृत्वलाई विश्वास गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले स्थानीय तहलाई बलियो बनाउन साधन र स्रोत अझै अपर्याप्त रहेको बताउनुभयो ।









