
बागलुङ, चैत ७ गते । नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विशेष पराजुलीले राजिनामा दिनुभएको छ ।
हालै सम्पन्न धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा अध्यक्षमा नेविसंघकी अध्यक्ष सृष्टि आचार्य पराजित भएपछि जिल्ला अध्यक्ष पराजुलीले राजिनामा दिनुभएको हो । उहाँले निर्वाचनमा पार्टीले हस्ताक्षेप गरेर चरम बुटबन्दी गर्दा हार व्यहोर्नु परेको भन्दै अध्यक्षबाट राजिनामा दिएको बताउनुभएको छ ।
उहाँले पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष डुजाङ शेर्पा र नेपाली काँग्रेस बागलुङका जिल्ला सभापति जित शेरचनलाई मेन्सन गरेर राजिनामा पत्र पोष्ट गर्नुभएको छ । अध्यक्ष पराजुलीले सामाजिक सञ्जालमा राजिनामा पत्र सार्वजनिक गर्दै भन्नुभएको छ,‘हामी भित्रको अलोकतान्त्रिक, अराजनीतिक र गैरजिम्मेवार चरित्रको कारण आज हामीले आफ्नै संघर्षको ईतिहासलाई न्याय गर्न सकेनौं जसको कारण हामीले धवलागिरि बहुमुखी क्याम्पस जस्तो गरिमामय इतिहास र विरासत बोकेको क्याम्पसमा स्ववियु गुमाउनुपर्यो…’
पराजुलीले राजिनामा पत्रमा पार्टीको चरम गुटबन्दीको निर्मम शिकार बन्नुपरेको र जसको प्रत्यक्ष प्रभावको कारण नेविसंघ निर्वाचनमा पराजित हुन पुगेको बताउनुभएको छ । उहाँले लोकतन्त्र हार स्वीकार गर्ने व्यवस्था भएको बताउँदै हारलाई सहर्ष रुपमा स्वीकार गर्दै कार्यकालभरी आवश्यक रचनात्मक सहयोग गर्ने बाचा पनि गर्नुभएको छ ।
पराजुलीले पार्टी नेतृत्वको अलोकतान्त्रिक, अराजनीतिक र गैरजिम्मेवार चरित्रका कारण अहिले आफ्नै इतिहासलाई न्याय गर्न नसकेको र स्ववियु गुमाउन परेको राजिनामा पत्रमा उल्लेख गर्नुभएको छ । ‘पार्टी नेतृत्वको अलोकतान्त्रिक, अराजनीतिक र गैरजिम्मेवार चरित्रका कारण हामीले आफ्नै संघर्षको इतिहासलाई न्याय गर्न सकेनौं’ उहाँले राजिनामा पत्रमा लेख्नुभएको छ,‘कर्तव्य पालना गरेर पनि परिणाम दिन नसकेपछि हारको नैतिक जिम्मेवारी लिएर राजिनामा गर्दछु ।’ उहाँले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई सम्बोधन गरेर उक्त राजिनामा दिनुभएको छ । साथै, उक्त पत्रको बोदार्थ नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई पनि दिइएको छ ।
धवलागिरि बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा नेविसंघको सभापति उमेदवार सृष्टी आचार्य पराजित हुनुभएको थियो । सभापतिमा अखिल संयुक्त प्यानलबाट उम्मेदवार बन्नुभएकी अनेरास्ववियुकी आस्मिन शेख विजयी हुनुभएको थियो । निर्वाचित शेखले ५२२ र नेविसंघकी आचार्यले ४९१ मत प्राप्त गर्नुभएको थियो ।
२० वर्षदेखिको नेपाल विद्यार्थी संघ (नेविसंघ)को किल्ला भत्काउँदै सभापतिमा अनेरास्ववियुकी शेखले इतिहास कायम गर्नुभयो । २०६२ सालदेखि क्याम्पसमा नेविसंघका उम्मेदवारले सभापतिमा जित्दै आएका थिए । यसपटक शेखले उक्त निरन्तरतालाई भंग गर्नुभएको हो ।
स्वतन्त्र समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका नेविसंघका नेता दिपक सुवेदीले समय सकिएपछि उम्मेदवारी फिर्ता गरेको र सृष्टिलाई समर्थन गरेको घोषणा गरेका थिए । स्वतन्त्र समूहले समानुपातिकमा १२२ मत ल्याएको थियो । निर्वाचनमा नेविसंघले दुई पदाधिकारीसहित ७ सदस्य जितेको छ भने अखिलले एक सदस्य मात्रै जितेको छ ।