
बागलुङ, १३ फागुन । जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न मुद्दामा फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत बागलुङ तथा उच्च अदालत पोखरा बागलुङ इजलासबाट विभिन्न समयमा सजाय तथा जरिवाना फैसला भएका चार जना प्रतिवादीलाई प्रहरीले आईतबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जिल्ला अदालत बागलुङबाट २०८१ असार ५ गते पशुपंक्षी सम्बन्धि कसूरमा २ महिना ७ दिन सजाय सुनाईएका बागलुङको गलकोट नगरपालिका १ का प्रेम भन्ने प्रिम सार्की, ३ महिना सजाय सुनाईएका सोही स्थानका सुरेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक (डिएसपि) विजय यादवले जानकारी दिए ।
यस्तै पक्राउ पर्नेहरुमा चोरी मुद्दामा जिल्ला अदालतबाट २०७९ पुष २ गते ४ महिना आठ दिन कैद तथा १० हजार रुपियाँ जरिवाना सजाय सुनाईएका गलकोट नगरपालिका १० का प्रविण पुन र उच्च अदालत पोखरा बागलुङ इजलासबाट २०८१ बैशाख २३ गते बहुविवाह मुद्दामा ३ महिना १७ दिन कैद तथा १० हजार रुपियाँ जरिवना सजाय सुनाईएका गलकोट नगरपालिका १ का झक्त बहादुर खत्री छन् ।
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियानलाई तीव्र पारेको बागलुङ प्रहरीले आइतबार पक्राउ परेका चारै जनाललाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालतमा पठाएको डिएसपि यादवले जानकारी दिए ।