
बागलुङ, ११ फागुन । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य सुधार कार्यक्रमलाई अगाडी सारिएको बताउनुभएको छ ।
नेपाल स्वास्थ्य कर्मचारी संगठन बागलुङको चौथो अधिवेशनमा बोल्दै मन्त्री पाठकले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन प्रदेश मन्त्रालय लागि परेको बताउनुभएको हो । ‘स्वास्थ्य संस्थाको सुद्रीकरणको लागि नीतिगत कानुनी र संरचनागत सुधार आवश्यक छ,’ मन्त्री पाठकले भन्नुभयो,‘यसको सुधारमा मन्त्रालयले कार्यविधि बनाएर काम गरिरहेको छ ।’
प्रदेश स्वास्थ्य मन्त्रालयले अल्पकालीन मध्यकालीन र दीर्घकालीन योजना बनाएर प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार गर्न काम गरिरहेको मन्त्री पाठकको भनाई थियो । उहाँले प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरूको स्तारोन्नती गर्न योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो ।
आर्थिक अनुशासन र पारदर्शितामा ध्यान दिन स्वास्थ्यकर्मीहरूलाई मन्त्री पाठकले निर्देशन समेत दिनुभएको छ । ‘स्वास्थ्य क्षेत्रमा नराम्रो कार्य गर्नेलाई कानुन र विधिमा टेकेर कारवाही गछौं,’ मन्त्री पाठकले भन्नुभयो,‘राम्रो काम गर्ने कर्मचारीलाई मन्त्रालयले सघाउने छ । व्यक्तिको कारण कुनै कर्मचारीलाई सरुवा गरिदैन । स्वास्थ्यका कर्मचारीको सुरक्षा गर्ने मन्त्रालय सधै तयार छ ।’
आम नागरिकले महसुस गर्ने गरी स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मी प्रतिबद्ध हुनुपर्ने मन्त्री पाठकको भनाइ छ । ‘आम स्वास्थ्यकर्मीले साथ दिएमा प्रदेश सरकारले जनताले महसुस गर्ने गरी काम गर्न सक्छ,’ उहाँले भन्नुभयो,‘स्वास्थ्यकर्मीको हकहितको लागि समेत प्रदेश सरकार प्रतिबद्ध छ ।’
मन्त्री पाठकले स्वास्थ्य सम्बन्धी समस्या आएमा केन्द्रको सरकारलाई पनि ध्यानाकर्षण गराउने बताउनुभयो । ‘सवै खालका समस्या समाधान गर्न प्रदेश सरकारले मात्र सक्दैन,’ उहाँले भन्नुभयो,‘केन्द्रको सहयोग पनि आवश्यक पर्छ । त्यसैले प्रदेश सरकारले केन्द्र सरकारसँग समन्वय र सहकार्य गरेर स्वास्थ्यका समस्याको समाधान गर्नेछ ।’
शनिबार सम्पन्न नेपाल स्वास्थ्य कर्मचारी संगठन बागलुङको चौथो अधिवेशनले लक्ष्मण कार्कीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्तोष सुवेदी र ललिता लामा, सचिवमा पृथ्वी थापा मगर, उपसचिवमा कमला थापा र कोषाध्यक्षमा बैकुण्ठ निउरे सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा ईश्वर प्रसाद पाण्डे, देवी थापा, कल्पना खड्का, सुस्मा गैरे, जमुना पाण्डेय, राधा राना, सुधा जि .सी, शेर बहादुर बुढा, टिका रिजाल, सुमित्रा गैरे पौडेल, एलिना शर्मा, सुशिला पौडेल र पुर्ण बि.क सर्वसम्मत निर्वाचित हुनुभएको छ ।