लेखानीका कृषकलाई कृषि सामाग्री हस्तान्तरण

सुजन रेग्मी
बागलुङ, ११ फागुन । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।

महिला उद्यमशिलता विकासका लागि महिला लक्षित कार्यक्रम अन्तरगत काठेखोला गाउँपालिकाको आयोजना र काठेखोला गाउँपालिका महिला समन्वय समितिको व्यवस्थापनमा लेखानीका कृषकहरुलाई कृषि सामाग्री तथा टर्नेल निर्माण प्रविधि हस्तान्तरण गरिएको हो । महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तीन दिने तालिम पछि सामाग्री हस्तान्तरण गरिएको काठेखोला गाउँपालिका महिला शाखा प्रमुख रश्मी गौतमले बताउनुभयो ।

गौतमका अनुसार १७ वटा प्लाष्टिक टनेल, १७ वटा ड्रम र सिचाईको लागि पाईप हस्तान्तरण गरिएको थियो । तालिममा सहभागि महिला कृषकहरुलाई उक्त सामाग्री गाउँपालिकाका अध्यक्ष राजु थापाले हस्तान्तरण गर्नुभएको थियो ।

तालिमको समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष राजु थापाले कृषकलाई व्यवसायिक बनाउन गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले कृषकहरुलाई चाहिने तालिम, सामाग्रीहरु गाउँपालिकाले उपलब्ध गराउने बताउँदै कृषकहरुलाई ढुक्कसँग कृषिकर्ममा लाग्न अनुरोध गर्नुभयो । ‘कृषकहरुलाई दक्ष बनाउनको लागि गाउँपालिकाबाट तालिम संचालन गरेका हौं,’ अध्यक्ष थापाले भन्नुभयो,‘कृषकहरुलाई सहयोग होस् भनेर हामीले कृषिका सामाग्रीहरु हस्तान्तरण गरेका हौं । सबै कृषकहरुलाई सामाग्रीलाई सदुपयोग गर्दै कृषि कर्ममा प्रयोग गर्नुहोला ।’

तालिमको समापन समारोहमा वडा नं. १ का वडाअध्यक्ष खडक थापा, वडा नं. ८ का वडाअध्यक्ष प्रमानन्द कंडेल, कार्यपालिका सदस्य पूर्णमाया सुनार, प्रशिक्षक अग्नि कंडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

महिला समन्वय समितिका संयोजक सुन्तली विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महिला शाखा प्रमुख तथा महिला समन्वय समितिका सदस्य सचिव रश्मी गौतमले गर्नुभएको थियो ।