एआई एक्सरे मेसिनबाट क्षयरोग परीक्षण गर्दै गण्डकी प्रदेश

बागलुङ, १३ मंसिर । गण्डकी प्रदेश सरकारले आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिनद्वारा क्षयरोग परीक्षण सुरु गरेको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छाती रोग सम्बन्धि खोजपड्ताल गर्नको लागि एआई एक्सरे मेसिन प्रयोगमा ल्याएको हो । मंगलबार बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघा स्वास्थ्य चौकीबाट गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले एआई मेसिनद्वारा छातीरोगको खोजपड्ताल कार्यक्रमको शुभारम्भ गरेका छन् ।

मन्त्री पाठकले अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगद्वारा छातीरोगको समयमै खोजी र उपचार गर्न सकिने बताए । उक्त मेसिनले एक मिनेटभित्र रोगको प्रारम्भिक नतिजा दिनसक्ने र विगत क्षेत्रमा समेत लगेर रोगको खोजपड्ताल गर्न सकिने मन्त्री पाठकको भनाई छ । ‘अब गण्डकी प्रदेशका अत्यन्तै विकट ठाउँहरुका जनताले समेत आफ्नै घरदैलोमा छातीमा देखिने टिवि (क्षयरोग) लगायतका रोगहरुको चेकजाँचको सुविधा सहजरुपमा प्राप्त गर्नसक्छन्,’ उनले भने,‘एक मिनेटभित्र रोगको प्रारम्भिक नतिजा दिनसक्ने भएकाले रोग पत्ता लगाउन सहज हुनेछ ।’

एआई एक्सरे मेसिन गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतको क्षयरोग उपचार केन्द्रमा रहने जनाइएको छ । उक्त मेसिन प्रदेशका दुरदराजमा रहेका नागरिकहरुको घरदैलोमै पुगेर चिकित्सकहरुको टोलीले सेवा प्रदान गर्ने मन्त्री पाठकले बताए । ‘मेसिन मन्त्रालयको क्षयरोग उपचार केन्द्रमा राखिनेछ,’ मन्त्री पाठकले भने,‘प्रदेशका विकट तथा दुरदराजमा रहेका नागरिकहरुको उपचारको लागि विज्ञ चिकित्सकहरुको टोली सम्बन्धित ठाउँमा पुगेर सेवा प्रदान गर्नेछन् ।’

क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले एक करोड ७५ लाख रुपैयाँ खर्चेर एआई एक्सरे मेसिन खरिद गरेको हो । क्षयरोग लागयतका छातीसम्बन्धि रोगको समयमा उपचार नहुँदा नागरीकले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रबिधि, जनशक्ति र उचारमा प्रदेश सरकारले कार्यक्रम ल्याएको मन्त्री पाठकको भनाई छ ।