बिहुँकोट अधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन

खिम बहादुर कार्की
बागलुङ, ५ मंसिर । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा बिहुँकोट आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन गरिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले आधारभूत अस्पतालको भवन उद्घाटन गर्नुभएको हो ।

सहरी विकास मन्त्रालयको ६ करोड १२ लाख ४७ हजार ६४४ रुपैयाँ बजेटमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकार्य भवन बागलुङद्वारा अस्पतालको भवन निर्माण भएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

 

वि.सं. २०७८ बैशाख २० गते भन्डन भगवति डेभ एण्ड सायर तिलक ज्वइन्ट भेन्चर बागलुङसँग सम्झौता गरिएपनि २०७९ कार्तिक ७ गते शिलन्यास गरेर भवन निर्माणको काम गरिएको थियो । गत असोज ८ गते भवन निर्माण सम्पन्न गरी निर्माण कम्पनीले वडा कार्यालयलाई भवन हस्तान्तरण गरेको थियो ।

भवन निर्माणको लागि विहुँकोट गाविसका तत्कालिन प्रधानपञ्च स्व. चण्डीप्रसाद कंडेल र उहाँकी धर्मपत्नी स्व. मणिकर्ण कंडेलको स्मृतिमा छोराहरु गंगा प्रसाद कंडेल, बाबुराम कंडेलले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको काठेखोला गाउँपालिका–६ बिहुँका वडाअध्यक्ष बृहस्पति कंडेलले बताउनुभयो ।

दुईतले भवनमा साना र ठुला ५३ वटा कोठा तयार भएका छन् । मुख्य भवन भन्दा बाहिर अपांगतामैत्री, महिला र पुरुषस शौचालय रहेको भवन निर्माण भएका हुन् । आधुनिक भवनमा सौर्य उर्जा, आगलागी नियन्त्रणका साधनहरु लगायतका संरचना समेत बनेका छन् । भवन निर्माणसँगै बिहुँबासीमा अस्पताल सञ्चालनको आशा पलाएको छ ।

उद्घाटन समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वडाका स्वास्थ्य चौकीलाई प्रसुति वार्ड बनाउनुपर्ने बताउनुभयो । उहाँले सुत्केरी आमाको उपचारलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै वडाका अस्पतालहरुलाई प्रसुति वार्ड बनाउनुपर्ने नभएपनि राम्रो वर्थिङ्ग सेन्टर बनाउनुपर्नेमा जोड दिनुभयो । ग्रामीण भेगको स्वास्थ्य सुधारमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले धेरै राम्रो काम गरेको मन्त्री पौडेलको भनाई छ ।

गाउँहरुमा पछिल्लो समय बसाईसराईको कारण जनसंख्या कम भएकोले निजी कम्पनीहरुले गाउँहरुमा लगानी नगर्ने हुँदा नागरिकहरुको स्वास्थ्य सुविधाको निम्ती राज्यले लगानी गर्नुपर्ने मन्त्री पौडेलले बताउनुभयो । उहाँले तीन तहकै सरकारले एउटै नागरिकको सेवा गर्नुपर्ने हुनाले मिलेर गर्नुपर्ने बताउनुभयो । ‘संघियता भनेको सवै काम छुट्टाछुट्टै गर्नुपर्छ भन्ने होइन । संघियता भनेको फरक फरक देशका सरकारहरु होइनन् । एउटै देशको एउटै नागरिकलाई सेवा गर्न बनेको तीन तहको सरकार हो । त्यसैले मिलेर काम गर्नुपर्छ,’ मन्त्री पौडेलले भन्नुभयो,‘स्वास्थ्य, शिक्षा, सार्वजनिक यातायात, शान्ति सुरक्षामा कतिपय कामहरु तीन वटै तहका सरकार मिलेर गर्न जरुरी हुन्छ । त्यस कारणले सरकारको स्वास्थ्य प्रणालीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा तीन वटै तहका सरकारले आपसमा समन्वय गरेर समझदारी पूर्वक अगाडी बढाएर लाग्नुपर्नेछ ।’

कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल, पूर्व सांसद गोविन्द प्रसाद कंडेल, जग्गा व्यवस्थापन समितिका सदस्य नारायणप्रसाद शर्मा (राजु), जग्गादातको तर्फबाट बेदप्रसाद कँडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । काठेखोला गाउँपालिका–६ बिहुँका वडाअध्यक्ष बृहस्पती कंडेलको अध्यक्षतामा सम्पन्न भवन उद्घाटन कार्यक्रममा काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाको स्वागत मन्तव्य र अमर क्याम्पसका प्रमुख कृष्ण कंडेलको संचालनमा सम्पन्न भएको थियो ।