मालिकामा निःशुल्क ह्वीलचियर वितरण

बागलुङ, १० कार्तिक । बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क ह्वीलचियर वितरण गरिएको छ ।

बागलुङ समाज दक्षिण कोरियाको सहयोगमा नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाले मालिकाका अशक्त दुई व्यक्तिलाई ह्वीलचियर वितरण गरेको हो । उपशाखाका सभापति रेशम सापकोटाले मालिकाका बागलुङ समाज दक्षिण कोरियाले चार वटा ह्वीलचिर सहयोग गरेपनि मालिकाका दुई जनालाई ह्वीचियर वितरण गरिएको र बाँकी दुई ह्वीचियर बाँकी रहेको बताउनुभयो । उहाँले घरघरमा पुगेर ह्वीलचियर वितरण गरिएको जानकारी दिनुभयो ।

ह्वीलचियर वितरण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यले रेडक्रसहरुले दुःखमा परेका नागरिकहरुको लागि सहयोगीको भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले मालिका उपशाखाले रेडक्रसको मर्म र भावना अनुसार काम गरिरहेको बताउँदै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाका वडा अध्यक्ष हरिप्रसाद शर्मा, निवर्तमान वडा अध्यक्ष तथा संस्थापक सभापती शिवप्रसाद सापकोटा र जिल्ला शाखा बागलुङका कोषाध्यक्ष जीबननाथ शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाका सभापति रेशम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निवर्तमान उपसभापति कोपिला खरेल सापकोटा र संचालन सचिव मातृकाप्रसाद आचार्यले गर्नुभएको थियो ।