बलेवा एकता सहकारीको बागलुङ नगर एकाईको साधारणसभा

बागलुङ, १० कार्तिक । बागलुङमा संचालित बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाको बागलुङ नगर एकाइगत साधारणसभा सम्पन्न भएको छ ।

बागलुङको बलेवामा मुख्य कार्यालय रहि बिभिन्न क्षेत्रमा सेवा केन्द्र संचालन गरेको सहकारीको १४ औं बार्षिक साधारणसभा अन्तरगत शनिबार बजार क्षेत्रको एकाइगत साधारणसभा सम्पन्न भएको हो ।

बागलुङ बजार क्षेत्रको साधारणसभाको उद्घाटन गर्दै नेपाल सुचना तथा संचार केन्द्रिय सहकारी संघका संचालक एवँ जिल्ला सहकारी संघ बागलुङका संचालक खिमबहादुर कार्कीले सहकारीलाई दिगो बनाउनका लागि शेयर सदस्य केन्द्रित कारोवार हुनपर्नेमा जोड दिनुभयो ।

शेयर सदस्य केन्द्रित नहुँदा सहकारीहरु समस्यामा परेको चर्चा गर्दै कार्कीले संस्थाको मेरुदण्ड नै शेयर सदस्य भएकाले शेयर सदस्यहरुले नियमित कारोवार र निगरानी गर्नुपर्ने बताउनुभयो । उहाँले समग्र सहकारीको बिषयमा छलफल आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम नेपाल पत्रकार महसंघ गण्डकी प्रदेश सदस्य ताराप्रसाद शर्मा, सम्मानित व्यक्ति दलबहादुर कुँवर दिपक, शेयर सदस्य तथा पत्रकार संगम घर्ती मगर र संस्थाका प्रवन्धक भरत पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सहकारीले उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु नारायण प्रसाद शर्मा पौडेल, सरस्वती शर्मा आचार्य, बावुराम लम्साल, सागर सुवेदी र दलबहादुर कुवँरलाई सम्मान गरिएको थियो ।

सहकारीमा गत आर्थिक वर्षसम्म २५ करोड ९ लाख १ सय शेयर रकम, २३ करोड ५४ लाख ७२ हजार ७ सय ६६ निक्षेप, २१ करोड ३ लाख ४९ हजार ९ सय २५ ऋण लगानी र २ हजार ३ सय ३ शेयर सदस्य रहेको प्रवन्धक पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रम बागलुङ बजार सेवा केन्द्रका संयोजक चन्द्रप्रकाश पौडेल गणेशको अध्यक्षता, उपसंयोजक प्रकाश पौडेलको स्वागत र सचिव तारानाथ आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

यसअघि कार्तिक ७ गते अमलाचौर र कार्तिक ९ गते पैयुपाटाका एकाइगत साधारणसभा गरेको सहकारीको मुख्य साधारणसभा कार्तिक १२ गते नारायणस्थानमा हुने भएको छ ।