खिम बहादुर कार्की
बागलुङ, ३ कार्तिक । भीमापोखरा कल्याण समाज बागलुङको अध्यक्षमा डिल्लीराज उपाध्याय चयन भएका छन् । समाजको शनिबार सम्पन्न दोस्रो अधिवेशनले उपाध्यायको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समाजको उपाध्यक्षमा बालकृष्ण शर्मा, सचिवमा राजु निउरे, सहसचिवमा राजु गौतम र कोषाध्यक्षमा विष्णु थापा चयन भएका छन् । यस्तै सदस्यहरुमा रुद्र प्रसाद पौडेल, सुनिल शर्मा, दिपक केसी, कोपिला उपाध्याय, छविलाल थापा र राजेन्द्र केसी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक चन्द्रमणि उपाध्यायले जानकारी दिए । निर्वाचन संयोजक उपाध्यायले दुई महिला सदस्य पछि थप गर्ने बताए ।
समाजको असोज २४ गते भीमापोखरामा दोस्रो अधिवेशन तथा चौथो बार्षिक साधारणसभा सुरु भएको थियो ।
शनिबार समाजका अध्यक्ष टिका बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा समाजका सल्लाहकार डिल्लीराज गौतम, काठेखोला गाउँपालिका–२ भीमापोखराका वडा अध्यक्ष विद्यापति शर्मा, विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतम र समाजका आजिवन सदस्य गणेश बहादुर भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समाजका सदस्य शिवप्रसाद शर्माको स्वागत मन्तव्य र सचिव डिल्लीराज उपाध्यायले संचालन गरेका थिए ।