मानव सेवा आश्रममा नि:शुल्क स्वास्थ्य शिविर

बागलुङ, २७ भदौं । युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीज बर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको तेस्रो दिन मानव सेवा आश्रममा नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ ।

बिभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रम सहित साताव्यापी रुपमा संचालन हुने गरि शुरु भएको जेसीज सप्ताहको तेस्रो दिन जेसीज आश्था मानवताको सेवा नै जिवनको सर्वोत्तव कार्य हो भन्ने भावलाई आत्मसाथ गरि निशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

मानव सेवा आश्रम बागलुङमा आश्रीतहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै उनिहरुको रगत जाँच, प्रेसर जाँच, सुगर तथा एचआइभी जाँच, आँखा जाँच लगाएतका सेवा दिइएको मुल संयोजक बलराम कडेलले जानकारी दिनुभयो ।

मानव सेवामा आश्रित ६० जनाको स्वास्थ्य परिक्षण गरिएकोमा कुनै पनि जटिल समस्या नभएको पाइएको धौलागिरि अस्पतालका ल्याव टेक्निशियन हरि ढुङ्गानाले जानकारी दिनुभयो । धौलागिरि अस्पताल र श्रीकृष्ण मेडिको फर्माको सहयोगमा स्वास्थ्य शिविर गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा धौलागिरि अस्पतालका ल्याव टेक्निशियन हरि ढुङ्गाना र नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्यले सप्ताहको कार्यक्रम अन्तरगत आश्रममा स्वास्थ्य शिविर गरेर जेसीजले पुण्यको काम गरेको बताउनुभयो र
कार्यक्रम बागलुङ जेसीज बर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, मुल संयोजक एवँ कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलको स्वागत र दिर्घकालिन बिकास संयोजक तथा कार्यक्रम संयोजक मिलन खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

भदौ ३१ गतेसम्म संचालन हुने सप्ताह अन्तरगतको चौथो दिन २८ गते शुक्रवार राधाकृष्ण मन्दिरको सभाहलमा बिद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिएको मुल संयोजक कडेलले जानकारी दिनुभयो ।