बागलुङ, २४ भदौं । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार गर्नुपर्ने देखिएको बताएका छन् ।
सोमबार स्वास्थ्य कार्यालय बागलुङको वार्षिक समिक्षा कार्यक्रमको समापनसत्रमा बोल्नै मन्त्री पाठकले स्वास्थ्य क्षेत्रको नीतिगत सुधार गरिने बताउनुभयो । ‘स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार आवश्यक देखिन्छ,’ मन्त्री पाठकले भने,‘मेरो इच्छा शक्ति र स्वास्थ्यकर्मीको सहयोगले नीतिगत सुधार गर्न सकिन्छ । सवै स्वास्थ्यकर्मीलाई सहयोग गर्न अनुरोध गर्दछु ।’
मन्त्री पाठकले नेपालमा पछिल्लो समय नसर्ने रोगको विरामीको संख्या बढ्दो देखिएको बताउँदै पदबहाली गर्दा नसर्ने रोगको स्क्रिनिङ गर्ने निर्णय गरेको बताए । नसर्ने रोग सर्दैन भन्दै बेवास्ता गर्दा धेरैले नसर्ने रोगको कारण अकालमै ज्यान गुमाउनुपरेको उनले बताए । ‘रोग लागेर मृत्यु भएकाहरुमा कुल मृत्युको ७१ प्रतिशत नसर्ने रोगको कारण भएको पत्ता लागेको छ,’ मन्त्री पाठकले भने,‘यो अवस्थाको न्यूनिकरणको लागि रोग परिक्षण गर्न स्क्रिनिङ गरेर समयमै उपचार गर्ने व्यवस्था गछौं ।’
मन्त्री पाठकले आफ्नो कार्यकालमा कुनै पनि कर्मचारीलाई अन्याय हुन नदिने र राम्रो काम गर्नेलाई सम्मान गर्ने बताएका छन् । उनले प्रदेश तहका अस्पतालको संख्या बढाएर नागरिकको उपचार र सेवामा पहुँच बढाउन खोजेको बताए । नागरिकको स्वास्थ्य सेवामा सरकारले लगानी बढाउँदा विकास निर्माण र अन्य क्षेत्रको सुधार छिटो हुने उनको दाबी थियो । त्यस बाहेक बालविवाह अन्त्य र आमा सुरक्षाका कार्यक्रम प्रभावकारी भएमा गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अब्बल बन्ने पनि पाठकले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले स्वास्थ्य सेवा प्रभावकारी हुँदा दक्ष जनशक्ती निर्माणमा सहयोग पुग्ने बताएका थिए । उक्त अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले आत्महत्या न्यूनिकरणमा स्वास्थ्यकर्मीको भूमिका र आर्युवेद औषधालयका प्रमुखले वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
स्वास्थ्य कार्यालय बागलुङले संचालन गरेको समीक्षामा स्वास्थ्य कार्यालय बागलुङले संचालन गरेको समीक्षामा गतवर्ष कामको मूल्यांकनको आधारमा बडिगाड गाउँपालिका प्रथम, गलकोट नगरपालिका द्वितिय, तमानखोल तृतिय र बरेङ सान्त्वना भएका थिए । उनीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
व्यवस्थापनतर्फ व्यानर समेत बनाएर रिपोर्टिङ गर्नेमा गलकोट प्रथम, ढोरपाटन द्वितिय, बागलुङ तृतिय भएका थिए । समीक्षापछि आगामी दिनको कार्ययोजना समेत बनाएर पालिकाका स्वास्थ्य शाखाका प्रमुख सहितका स्वास्थ्यकर्मी कार्यक्षेत्रमा खटिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए । बार्षिक समिक्षा आईतबार र सोमबार संचालन भएको हो ।