जनमोर्चा बागलुङको वडा स्तरीय संगठनात्मक अभियान सुरु

बागलुङ, १२ भाद्र । राष्ट्रिय जनमोर्चा बागलुङले वडा स्तरीय विशेष संगठनात्मक अभियान सुरु गरेको छ । जिल्ला समितिको आठौं बैठकको निर्णय अनुसार जिल्लाका १० पालिकाका ८५ वटै वडामा विशेष संगठनात्मक अभियान सुरु गरेको हो ।

‘राष्ट्रियता र गणतन्त्रको रक्षा गरौं, संघियता खारेज गरौं’ भन्ने नाराको साथमा भदौ १२ गतेदेखि शुरु भएको कार्यक्रम भदौ २५ गते समापन हुने राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाले जानकारी दिए । १० वटै पालिकाका प्रमुखहरुलाई राष्ट्रिय र स्थानीय समस्याको विषयमा ध्यानार्कषण गराउँदै भदौ २५ गतेभित्र ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

जनमोर्चाले विशेषगरी जिल्लाका प्रत्येक वडामा आफ्ना कार्यकर्तालाई संगठनात्मक प्रशिक्षण समेत गर्ने जनाएको छ । बुधबार जिल्लाका ७ वटा वडामा कार्यक्रमको उद्घाटन गरिएको जिल्ला सचिव भिमलाल पोखरेलले जानकारी दिए ।

बरेङ १ धुल्लुबाँस्कोटमा गण्डकी प्रदेश उपाध्यक्ष धर्म कुँवर, जैमिनी १ कुश्मीसेरामा पूर्व केन्द्रिय सचिव कृष्ण अधिकारी, बागलुङ नगरपालिकाको १२ अमलाचौरमा जिल्ला अध्यक्ष तिलक थापाले कार्यक्रमको शुभारम्भ गरेका थिए ।

त्यसैगरी गल्कोट १ दुदिलाभाटीमा केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गाना, बडिगाड २ खर्बाङमा अखिल नेपाल युवक संघका केन्द्रिय महासचिव भिमसेन वन, ढोरपाटन १ बुर्तिबाङमा जिल्ला सचिव भिमलाल पोख्रेल र निसीखोला ७ राजकुटमा केन्द्रिय सदस्य गौरीश्वर पाण्डेले अभियानको उद्घाटन गरेका थिए । ७ समुहमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय, प्रदेश, जिल्ला र पालिका पदाधिकारी अभियान खटिने छन् ।