बागलुङ, १४ जेठ । बाङेचौर खेल मैदानमा जारी प्रथम आदर्श कप फुटबल प्रतियोगितामा पहिलो चरण खेल सकिँदा पाहुना टोली पर्वत माविले उत्कृष्ट खेल प्रर्दशन गर्दै उपाधि जित्ने छनक देखाएको छ । सोमबार न्यु एभेरेष्ट एकेडेमीमाथि हाबी बन्दै ०–६ गोलको सानदार जित निकालेपछि फुटबलका जानकार र दर्शकले पर्वतलाई उपाधि दाबेदारको रुपमा हेरेका छन् ।
जापानमा दुई पटक यु–१४ को कोपा तोररर्स खेलको अनुभव बटुलेका गोलरक्षक विजन बस्यालदेखि एन्फा एकेडेमी बुटवलमा यु–१३ को छनोटमा परेका दिवन थापा जस्ता उत्कृष्ट खेलाडि सम्मिलित पर्वत माविले खेल अवधिभर न्यु एभरेष्टमाथि निरन्तर दबाब दिईरह्यो ।
खेलको १९ औं मिनेटमा गोल गर्दै पाहुना टोली पर्वतलाई शुरुवाती अग्रता दिएका अफरोज अलीले २७ औं मिनेटमा दोस्रो गोल थपे । न्यु एभरेष्टलाई निराश बनाउन अलीले ४ गोलको योगदान गर्दा नविन काफ्ले ३३ औं र दिवान थापाले ४६ औं मिनेटमा एक÷एक गोल गरे ।
सेभेन ए साइड प्रतियोगितामा जमिरहेका पर्वत माविका खेलाडिलाई बाङेचौर खेल मैदानमा अफसाइड ट्याक मिनाउन केही असहज भएपनि उत्कृष्ट खेल प्रर्दशन गर्दे फुटबल पारखीको मन जितेका छन् । पर्वतले अब मंगलबार हुने फ्युचर ब्राइटर आमावि विरुद्वको क्वाटरफाइनल खेल खेल्ने छ । फ्युचरले सनराइज आवासिय माविलाई ४–० गोलले स्तब्ध पार्दे क्वाटरफाइनलमा प्रवेश गरेको हो । फ्युचरका लागि अर्मत शर्माले २ गोलको योगदान गर्दा निशान कार्की र आदित परियारले एक÷एक गोल गरेका थिए ।
सोमबारै सम्पन्न खेलमा सिद्वार्थ शिक्षा सदन र आयोजक आदर्श विद्यामन्दिर मावि ‘सेतो’ विजयी भएका छन् । निकै प्रतिष्पर्धात्मक खेलमा रुद्रेपिपल माविमाथि ०–१ गोलको कठिन जित निकाल्दा सिद्वार्थका सचिन थापाले खेलको इन्जुरी समयमा गरेको गोल नै निर्णायक गोल बन्यो । सिद्वार्थले मंगलबार हुने क्वाटरफाइनलको खेलमा अमर आदर्श माविको सामना गर्ने छ । अमर आदर्श कुँडुले माविलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
न्यु ओयसिस एकेडेमी ट्राईबेकरमा अभागी बन्दा आयोजक आदर्श विद्यामन्दिर मावि ‘सेतो’ क्वाटरफाइनलमा पुगेको छ । सोमबारको अन्तिम खेल निर्धारित समय गोलरहित बराबरी भएपछि ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा आदर्श विद्यामन्दिरका गोलरक्षक नायक बन्दा जित उसको सुनिश्चित भएको हो । आदर्श १–४ गोलले अन्तरले विजय भयो । आदर्श ‘सेतो’ले मंगलबार हुने खेलमा विद्यामन्दिर माविसंग प्रतिष्पर्धा गर्ने छ ।