विश्व औलो दिवसमा विद्यार्थीमार्फत समुदायमा सचेतना

बागलुङ, १४ बैशाख ।  बागलुङमा “औलो बिरुद्धको लडाईंलाई तिब्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गारौं” भन्ने नारा सहित विश्व औलो दिवस २०८१ मनाईएको छ । औलो दिवसको अवसरमा बिहिबार स्वास्थ्य कार्यालय बागलुङले रामरेखा आधारभुत विद्यालयमा सचेतना कार्यक्रम गरेको हो । औलोको बिषयमा विद्यार्थी मार्फत अभिभावक र समुदायसम्म सचेतना फैलाउने उद्देश्य सहित विद्यालयमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

जिल्लामा बिरामी शुन्य रहेका भएपनि लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले जिल्ला उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । छिमेकी मुलुक भारत औलोको उच्च जोखिममा रहको, बागलुङमा भारत प्रवासमा रहनेहरु धेरै भएकाले आयातित औलोको जोखिम औंल्याईएको हो । चालु आ.व.मा तीन हजार एक सय ८४ जनामा परीक्षण गरिएकोमा कसैमा पनि औलो पुष्टि भएको थिएन् । बागलुङमा २०७६(०७७ मा कोरोना महामारीका बेला भारतबाट फर्केर क्वारेन्टाईनमा बसेका एक जनामा औलो पुष्टि भएको थियो । त्यो बाहेक हालसम्म जिल्ला सुन्य औलोको अबस्थामा रहेको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताईन् ।

बिशेष गरी अफ्रिकी मुलुकबाट आउनेमा औलोंको जोखिम बढी हुने आएकाहरुमा औलोंको लक्षण देखिए पनि परीक्षण नगरि घरमै बस्दा त्यसले समाजमा संक्रमन फैलिने जोखिम बढी हुने उनले बताईन् । ज्वरो आइरहने वा बिराएर आउने, टाउको दुख्ने र वान्ता हुने, जाडो हुने, शरीर काँप्ने तथा पसिना आएर ज्वरो घटी थकान महसुस भए औलों परीक्षण गर्न उनले आग्रह गरिन् ।

एनोफलीज जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा औलो सर्ने गर्दछ । संसारमा चार सय जातका एनोफलीज लामखुट्टेहरु पाईने तथ्यांक रहेको छ । प्राकृतिक अवस्थामा ६० जात मात्र औलोको परजीविबाहक प्रमाणित भएका छन् भने नेपालमा हाल सम्म ४३ जातका एनोफलीज लामखुट्टेहरु पाइएका छन । ती मध्ये एनोफीलीज मिनिमस, एनोफलीज् फ्लूभियाटिलीज, एनोफलीज माय्कुलाटस् कम्प्लेक्स, एनोफलीज एनुलारीज् गरी चार जातले मात्र औलो सार्ने गर्दछ । औलोबाट बच्नका लागि स्वास्थ्य कार्यालय बागलुङले बिभिन्न सचेतना मुलक कार्यक्रम र खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्दै आएको छ । सचेतना कार्यक्रममा लक्ष्मी शर्मा र कमला थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । सरकारले औलो ज्वरोको औषधि निःशुल्क उपलब्ध गराईदै आएको छ ।

औलोबाट बच्नका लागि घर, गाउँ, समुुदाय सफा राखि लामखुट्टेले फुुल पार्ने ठाउँहरुलाई समाप्त पार्ने , लामखुट्टेको टोकाईबाट बच्ने, समुदायमा कसैलाई लक्षण देखिएमा परीक्षण गर्ने, झुल प्रयोग गर्ने जस्ता सन्देशहरु स्वास्थ्य कार्यालय बागलुङले दिएको छ । नेपाललाई सन् २०२५ सम्म औलोमुक्त बनाउने सरकारको योजना रहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here