बागलुङ पर्यटकीय क्षेत्र हाे : राष्ट्रपति पौडेल

बागलुङ, ११ पुष । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ राजनीतिक चेतनाको उर्वरभुमि मात्र नभइ पर्यटकीय क्षेत्र समेत रहेको बताउनुभएको छ ।

बागलुङमा आज (बुधबार)देखि सुरु भएको सातौं बागलुङ महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले धौलागिरि हिमशृङलासहितका प्राकृतिक छटाले सुसज्जित बागलुङ वरपरका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासको लागि यो महोत्सव आयोजना गरिएकोमा खुसी महशुष गरेको बताए ।

राष्ट्रपति पौडेलले बागलुङको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सम्भयतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रबद्र्धन गरेर पर्यटन क्षेत्रबाट आयआर्जन गर्न सक्ने प्रचुर सम्भावना रहेको बताए । ‘यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवद्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्न सकिने म प्रचुर संभावना देखीरहेको छु,’ राष्ट्रपति पौडेलले भने,‘ हरेक वर्ष निश्चित सङ्ख्यामा पर्यटक भित्राउने योजनासहितका कार्यक्रम यस क्षेत्रमा सञ्चालन गर्नु उपयुक्त हुन्छ । यस ठाँउको भौगोलिक विविधता र विकटतालाई पृथक र नवीन पर्यटकीय थलोको रुपमा विकास गरी नयाँ पुस्तालाई यस क्षेत्र र नेपाल भ्रमणको लागि आकर्षित गर्नु पर्ने आजको आवश्यकता हो ।’

उनले बागलुङका उद्योगी व्यवसायीहरुले राष्ट्रियस्तरमा समेत अर्थतन्त्रको बागडोर सम्हालेको देख्दा हर्षित भएको बताउँदै जिल्लो आफुलाई प्रख्यात गराउन सकेको धारणा राखेका थिए । सबैभन्दा धेरै विपे्रषण भित्राउने जिल्ला पनि बागलुङ रहेको राष्ट्रपति पौडेलको भनाई छ ।

निजी क्षेत्रलाई लगानी गर्न मन लाग्ने वातावरण बनाउन स्थानीय, प्रदेश र संघ सरकारले ऐन, नियम परिमार्जित गरेर प्रोत्साहन गर्नुपर्ने राष्ट्रपति पौडेलले बताए । ‘पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ,’ उनले भने,‘ निजी क्षेत्रलाई लगानी गर्न मन लाग्ने वातावरण बनाउन स्थानीय, प्रदेश र संघ सरकारले ऐन, नियम परिमार्जित गरेर प्रोत्साहन गरिदिनुपर्दछ भन्ने मलाई लाग्दछ ।’ प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनको लागि हिल स्टेशनहरू विकास गर्न आवश्यक रहेको बताउँदै सांस्कृतिक, धार्मिक, साहसिक, कृषि, स्वास्थ्य तथा खेल पर्यटक आकर्षित गर्दै यस क्षेत्रको मौलिक संस्कृति संरक्षणमा महोत्सवले सहयोग गर्ने पौडेलले बताए ।

राष्ट्रपति पौडेलले स्थानीयहरुको जीवनस्तर सुधार्नको लागि स्थानीयस्तरमा उत्पादन हुने कृषि उत्पादनहरुलाई व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गरेमा मात्र सम्भवन हुने बताए । उनले महोत्सवमार्फत निजी क्षेत्रले यहाँको उत्पादन हुने कृषि उपज र जडीबुटीलाई हाम्रो सामु ल्याएको हुँदा प्रदेश सरकारले यसको विकासमा उद्योगी व्यवसायीलाई उत्प्रेरित गर्नुपर्ने आवश्यक रहेको बताए ।

बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा सातौं बागलुङ महोत्सव पुष २२ गतेसम्म संचालन हुनेछ । पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजारलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष नरेश कंडेलले बताए । उनले जिल्लामै उत्पादन भइरहेका ब्राण्डहरुलाई ‘मेड इन बागलुङ’ नाममा स्टल छुट्टाएर प्रबद्र्धन र विक्री गर्ने व्यवस्था मिलाएको बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here