कावासोती, ६ मंसिर । नवलपुरका स्थानीय तहले हरिबोधनी एकादशीको दिन सार्वजनिक विदा दिएका छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको नवलपुरमा हरिबोधनी एकादशीको दिन विभिन्न स्थानीय धार्मिकस्थलमा लाग्ने धार्मिक मेलाका लागि गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरुमा मङसिर ७ गते सार्बजनिक बिदा दिइएको हो । संघीय तथा प्रदेश सरकारले दिएको बिदा बाहेक स्थानीय तहबाट पालिका स्तरको निर्णय गरी बिदा दिइएको छ ।
हरिबोधनी एकादशी (तुलसी विवाह) का दिन नारायणी नदी किनार, देवचुली –१ को केउरानी, कावासोती –११ को पिठौली र कावासोती –१५ मा गुन्द्रही मेला लाग्ने हुँदा मेला भर्नका लागि जिल्लाभित्र तथा वाहिरबाट हजारौँ दर्शनार्थी आउने गर्छन् ।
यस्तै, देवचुलीको केउरानीमा तीन दिन एकादशी मेलाको आयोजना गरिएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि केउरानीको नारायणी नदी किनारमा मेला लाग्नेभएको हो । नारायणी नदी किनारमा दिव्य मध्यवर्ती सामुदायिक वनद्वारा आयोजना गरिएको एकादशी मेलाको तयारी तिव्र पारिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदैगरेको यस क्षेत्रमा मङ्सिरको ७ देखि ९ गते सम्म मेलाको आयोेजना गरिएको छ ।
मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध कलाकारले आफ्नो प्रस्तुति राख्ने छन् । महानायक राजेश हमालको विशेष उपस्थिति रहने बताइएको छ । स्थानीय थारु, बोटे, मगर समुदायबाट तयार पारिएको खानाका परिकार, व्यापारिक एवम् व्यावसायिक स्टलहरु, बाल उद्यान धार्मिक तथा पर्यटकीय सूचना केन्द्रलगायत रहने आयोजकले जनाएको छ ।
मेलाकै अवसर पारेर जंगल सफारी, शनिश्चरे तालमा डुंगा सयर आदि कार्यक्रम सामुदायिक वनले व्यवस्थापन गरेको छ । मेलाबाट संकलन भएको रकमले मानव वन्यजन्तुबीचको द्वन्द्व कम गर्न सचेतना अभियान सञ्चालन गर्ने आयोजकले जनाएको छ ।