बागलुङ, ५ मंसिर । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देव कुमार नेपाली फरार भएको छ महिनापछि सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक भएका छन् । नेपालीले मंगलबार आफ्नो फेसबुक आईडीमा भिडियो र दुई पेज लामो बतव्य सहित सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
नेपालीले बक्तव्य मार्फत आफ्नो र श्रीमतीको नाममा रहेका घर जग्गा बचतकर्ताहरुको नाममा हस्तान्तरण गर्न चाहेको र त्यसको वातावरण मिलाई दिन कानुनी निकाय, राजनीतिक दल, नागरिक समाज पत्रकार र विभिन्न सरोकारवालाहरुलाई अनुरोध गरेका छन् । नेपालीले बचतकर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको बताएका छन् । उनले आफ्नो घरमा हतियार सहित ज्यान मार्ने धम्की दिएको र छ लाख बचत भएकाले करोडौको घर मागेकोले आफु वेपत्ता हुनुपरेको स्पष्टीकरण दिएका छन् ।
उनले आफ्नो चल अचल सम्पती पुरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफुलाई असहयोग गरेको वताएका छन् । नेपालीले सहकारीको समस्या समाधानको लागि इमेज पीडित संघर्ष समितिले धेरै दुःख पाएको आफुले राम्रोसँग बुझेको बताउँदै समितिलाई दश हजार हुने बचतकर्ताले दश लाखको निवेदन दिएको बताएका छन् । ‘इमेज सहकारीको समस्या समाधान गर्नको लागि संघर्ष समितिमा रहनुभएका साथीहरुलाई मेरो हृदयदेखी धन्यवाद दिन चाहान्छु । तपाईहरु पनि सहकारी समस्या समाधानको लागि धेरै दुःख पाउनुभएको छ मैले राम्ररी बुभझेको छु,’ उनले भनेका छन्,‘समितिका साथीहरुलाई के जानकारी गराइन्छ कि कतिपए डिपोजिटकर्ता साथीहरुले खातामा दश हजार हुने साथीहरुले दश लाखको निवेदन पनि गरेका छन् । कतिपयले ५० लाख फिक्समा भएकाले ९० प्रतिशत कर्जा मार्फत फिर्ता लगेका छन् तर ५० लाखकै दाबी निवेदन गरेका छन् । त्यसै कारणले इमेजमा २ अर्बको डिपोजिटको हल्ला छ । त्यो सत्य होईन त्यसमा समितिका साथीहरुलाई बुझन जरुरी छ ।’ उनले इमेजबाट ऋण लगेका शेयर सदस्यहरुले ऋण लगेको छैनौं भनी अटेर गरेको अवस्था समेत रहेको बताएका छन् ।
ढोरपाटन नगरपालिकाका नगरप्रमुख समेत रहेका नेपालीले आफु नगरप्रमुख भएर वुर्तिवाङमा बस्दा सहकारीमा समय दिन नसकिएको स्विकार गरेका छन् । नेपालीले आफ्नो र श्रीमतीको नाममा बागलुङ, बुर्तिबाङ, पोखरा र काठमाडौंमा १८ वटा घर र ४४ कित्ता जग्गा भएको जानकारी दिँदै सवै घरको फोटो समेत सार्वजनिक गरेका छन् । उनले उक्त घरहरु विक्री गरेर बचतकर्ताहरुको बचत फिर्ता गर्ने बताएका छन् ।
गत कात्तिक ३० गतेको मिति राखेर प्रकाशन गरेको विज्ञप्ति सार्वजानिक गर्दै नेपालीले नेपालीले समस्या समाधानका लागि सहजीकरण गरिदिन सवैलाई आग्रह समेत गरेका छन् । उनले ढोरपाटन नगरपालिकाका मतदातालाई सम्बोधन गर्दै सेवामा छिट्टै आउने समेत वताएका छन् ।