
बागलुङ, ५ मंसिर । बागलुङको मुख्य पर्यटकीयस्थल ढोरपाटनमा ‘प्रथम ढोरपाटन हाई अल्टिच्युट तेक्वान्दो सेमिनार–२०२३’ हुने भएको छ ।
आयोजक गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघले सोमबार बागलुङमा पत्रकार सम्मेलन गरेर मंसिर ८ र ९ गते ढोरपाटनमा ‘प्रथम ढोरपाटन हाई अल्टिच्युट तेक्वान्दो सेमिनार–२०२३’ गर्न लागिएको जानकारी गराएको हो । खेलाडी तथा प्रशिक्षकहरुको प्राविधिक ज्ञानको वृद्धि र विकास, ग्रामीण क्षेत्रमा खेलकुदको विकाससँगै एसियाकै एक मात्र सिकार आरक्ष ढोरपाटनको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन सँगै खेलकुदको महत्व दर्साउने उद्देश्यले सेमिनार गर्न लागिएको संघका उपाध्यक्ष तथा अफिसियल तथा खेल सामाग्री व्यवस्थापन समितिका संयोजक आकाशचन्द्र घर्ति मगरले बताए ।
सेमिनारमा नेपालभरका आईटीएफ तेक्वान्दोका प्रशिक्षक र खेलाडीहरुको सहभागिता हुने उपाध्यक्ष मगरले बताए । उनले देभरका विभिन्न जिल्ला र प्रदेशबाट करिव ४ सय खेलाडीले सेमिनारमा सहभागिता जनाउने जानकारी दिए । ‘यो राष्ट्रिय स्तरको सेमिनार हो,’ उपाध्यक्ष मगरले भने,‘इच्छुक प्रशिक्षक र खेलाडीहरुले सहभागिता जनाउन सक्नुहुनेछ । देशभरबाट प्रशिक्षक र खेलाडी गरेर ४ सय जना सहभागी हुने लक्ष्य लिएका छौं ।’
सेमिनारमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकहरुले खेलाडी, प्रशिक्षक र रेफ्रिहरुलाई तेक्वान्दोको प्राविधिक कुराहरु सिकाउने गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघका सचिव प्रति घर्ति मगरले बताए । उनले ढोरपाटन उपत्यकामा सेमिनार हुने र सहभागीहरुलाई हिमश्रृङ्खला सहितको सुन्दर दृश्य अवलोकनको लागि ढोरपाटनको जलजलासम्म लैजाने कार्यक्रम तय गरिएको बताए ।
गण्डकी प्रदेश तेक्वान्दो संघ (आइटिएफ) आयोजना, ढोरपाटन नगरपालिकाको सहयोग र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको समन्वयमा हुने सेमिनारमा ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सचिव मगरले बताए । ‘सेमिनार सम्पन्न गर्नको लागि ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ,’ सचिव मगरले भने,‘ढोरपाटन नगरपालिकाबाट ५ लाख रुपैयाँ बजेट विनियोजित भएको छ । अन्य खर्च खेलाडी दर्ता र विभिन्न संघ र व्यक्तिहरुबाट संकलन गछौं ।’
नेपालको मुख्य पर्यटकीय र हाइ अल्टिच्युटको क्षेत्र भएकाले ढोरपाटनमा सेमिनार गर्न लागिएको सचिव मगरले बताए । उनले खेलाडीहरुमा जनसुकै हावापानीमा खेल्ने क्षमता हुनुपर्ने बताउँदै सोही तयारीको लागि ढोरपाटनमा हाइ अल्टिच्युट तेक्वान्दो सेमिनार गर्न लागिएको जानकारी दिए ।
सेमिनार सम्पन्न गर्नको लागि नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापा मगरको संयोजकत्वमा १३ उपसमिति गठन गरिएको छ ।