बागलुङ, २४ कार्तिक । बागलुङमा जारी ‘बागलुङ कप’ टि२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि कास्की र नवलपुर भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा कास्की र नवलपुरले जित हात पार्दै फाइनलमा प्रवेश गरेका हुन् । कास्कीले स्याङ्जालाई ६ विकेटले हराउँदा नवलपुरले पर्वतलाई १० विकेटले पराजित गरेको हो ।
शुक्रबार विहान भएको पहिलो सेमिफाइनल खेलमा ९३ रनको विजयी लक्ष्य पछ्याएको कास्कीले १८ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । कास्कीलाई फाइनलमा पु¥याउनको लागि कप्तान विपिन खत्रीले कप्तानी इनिङ खेलेका थिए । उनले १८ बलमा २ चौका र २ छक्काको मद्धतले २५ रन बनाए । यस्तै किरण पौडेलले १५ रन बनाएभने अभिषेक थापाले अविजित १२ र सुवास भण्डारीले ११ रन बनाए ।
स्याङ्जाको लागि सन्दिप खत्रीले २ विकेट लिएभने अंकित न्यौपाने, आश्विनी राना र विपिनराज न्यौपानेले समान १–१ विकेट लिए ।
त्यसअघि बाङ्गेचौर खेलमैदानमा टस जितेर पहिले व्याटिङ गरेको स्याङ्जाले १९ ओभरमा ९२ रनमा अलआउट भएको थियो । स्याङ्जाको लागि सुजन गौतमले २५ र अंकित न्यौपानेले २२ रन बनाए ।
कास्कीको लागि कप्तान विपिन खत्रीले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । विपिनले प्रतियोगितामा लगातार ५ विकेट लिएका हुन् । उनले समुह चरणको अन्तिम खेलमा बागलुङ विरुद्ध ५ विकेट लिएका थिए । अभिषेक थापाले ३, सुवास भण्डारी र कृष्ण पौडेलले समान १–१ विकेट लिए ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा नवलपुरले पर्वतलाई १० विकेटले पराजित गर्यो । फाइनल प्रवेशको लागि ४१ रनको सामान्य लक्ष्य पछ्याएको नवलपुरले ४.१ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्यो । नवलपुरको लागि ओपनर रविन शर्माले १६ र गोविन्द विकले १३ रन बनाए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ रोजेको पर्वतले १३.२ ओभरमा ४० रनमा अलआउट भएको थियो । खराब सुरुवात गरेको पर्वतको लागि तेस्रो नम्बरमा व्याटिङ गरेका विनोद नेपालीले १४ रन बनाए । पर्वतका ७ जना व्याट्सम्यानले खाता नखोली पबेलियन फर्केका थिए ।
नवलपुरको लागि कुमार रानाले ४ ओभरमा १ मेडन राख्दै ४ रन खर्चेर ४ विकेट लिए । सुदिप अर्याल र शिशिर भुषासले २–२ विकेट लिएभने स्विकार श्रेष्ठले १ विकेट लिए ।
बागलुङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । यस्तै विधागत तर्फ म्यान अफ दि सिरिजले १० हजार रुपैयाँ, वेष्ट व्याट्सम्यान र वेष्ट बलरले ५–५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ दि म्याच विजेताले १ हजार रुपैयाँ प्राप्त गर्ने संघका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए ।