बागलुङ, २४ कार्तिक । कार्तिक कृष्ण त्रयोदशीका दिन शनिबारदेखि तिहार पर्व हुँदै छ । तिहार पर्वको अवसरमा देशभर देउसीभैलो खेलिन्छ । यसपटक बागलुङमा बुधबारदेखि नै विभिन्न क्लब, समुहहरुले देउसीभैलो खेल्न सुरु गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ती प्रकाशित गरी पर्वहरु प्रचलित परम्परा अनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानुनको पालना गर्दै मनाउन अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले विज्ञप्ती प्रकाशित गरेर राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने बताएका छन् । उनले सुरक्षालाई लक्षित गर्दै उक्त निर्णय भएको बताए ।
सहायक प्रजिअ बरारलले कसैको इच्छा र चाहना विरुद्धका क्रियाकलाप गर्ने र समाजमा कानून विपरीत कार्य गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी खुशीयालीपूर्वक मनाउन, शान्ति सुरक्षा एवम् अमनचयन कायम गर्न जिल्लाबासीलाई अपिल गरेका छन् । विज्ञप्ती मार्फत सवारी साधनहरुको छतमा बस्ने, झुण्डिएर यात्रा गर्ने कार्य नगर्न तथा विभिन्न बाहाना बनाई लामो÷छोटो दूरीका भाडाका सवारी साधनहरुले यात्रुसँग बढी पैसा असुल गर्ने, दूव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइएमा प्रहरीलाई सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।
दीपावली मनाउने क्रममा प्रयोग हुने भूइँचम्पा, पटाका, आतिशबाजी जस्ता विष्फोटक पदार्थ तथा नियन्त्रित र निषेधित बस्तुको अवैध आयात, ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्न सहायक प्रजिअ बरालले अनुरोध गरेका छन् । उनले जूवातास, कौडा लगायतका पैसाको हारजित हुने खेल नखेल्न अनुरोध गर्दै कोही कसैबाट त्यस किसिमका गैरकानूनी क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने बताए ।
सहायक प्रजिअ बरालले बजारमा कृत्रिम अभाव, कालोबाजरी, अस्वभाविक मूलयबृद्धि जस्ता कार्य नगर्न अनुरोध गर्दै गरेमा कानुन बमोजिम कडा कारवाही गर्ने बताए ।