‘बागलुङ कप’ टी२० क्रिकेट प्रतियोगिताको तयारी पुरा

बागलुङ, १८ कार्तिक । बागलुङ क्रिकेट संघले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ ।

संघले शनिबार पत्रकार सम्मेलन गरेर यहि कार्तिक २१ गतेदेखि २५ गतेसम्म बागलुङ बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

बागलुङ क्रिकेट संघका अध्यक्ष विष्णु प्रसाद आचार्यले प्रतियोगितामा गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता रहने बताए । उनले नेपाल क्रिकेट संघका सदस्य जिल्लाहरु बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्ला क्रिकेट संघले सहभागिता जनाउने बताए । लिगकम नकआउटका आधारमा खेलाइने खेलको शनिबार खेल तालिका समेत सार्वजनिक गरिएको छ । बागलुङ, पर्वत र कास्की जिल्ला क्रिकेट संघ समूह ‘ए’ र तनहुँ, स्याङ्जा र नवलपुर समुह ‘बि’मा रहेका छन् ।

प्रतियोगितामा विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । यस्तै विधागत तर्फ म्यान अफ दि सिरिजले १० हजार रुपैयाँ, वेष्ट व्याट्सम्यान र वेष्ट बलरले ५–५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ दि म्याच विजेताले १ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष आचार्यले बताए ।

संघ गठनपछिको संघको यो पहिलो प्रतियोगिता समेत हो । नेपाल क्रिकेट संघ (क्यान)ले गतवर्ष ४५ औं सदस्य जिल्लाको रुपमा बागलुङलाई सदस्यता प्रदान गरेको थियो । प्रतियोगिता सम्पूर्ण खेल म्याटमा खेलाइने र आइसिसिको नियमानुसार नै खेलाइने संघले जनाएको छ ।

संघले प्रतियोगितामा सहभागि हुने पर्वतको टिमलाई १० हजार र बाँकी टिमलाई २५ हजार रुपैयाँका दरले उपलब्ध गराएको छ । टिमहरुले उक्त रकमबाट खाना र आवासको व्यवस्था आफै गर्नुपर्ने संघका सदस्य तथा मिडिया फोकलपर्सन अभिषेक कटुवालले बताए ।

आयोजकले प्रतियोगिता संचालनको लागि १२ लाख ६ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । सम्पूर्ण रकम सहयोगबाट संकलन गरिने संघका उपाध्यक्ष कमल पन्तले बताए । उनले प्रतियोगिता संचालनको लागि बागलुङ नगरपालिकाबाट १ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको र अन्य रकम जिल्लाका अरु स्थानीय तह सहित पूर्व खेलाडी, व्यवसायी र सहयोगीबाट संकलन गरिने बताए ।

प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) र गण्डकी प्रादेशिक क्रिकेट संघले स्वीकृति प्रदान गरेको छ । अध्यक्ष आचार्यले क्रिकेट प्रतिको बढ्दो आकर्षणलाई ध्यान दिएर प्रतियोगिता संचालन गर्न लागिएको बताए । जिल्लाको टिम छनोटमा खेलाडीहरुको आकर्षक देखेर उत्साहित बनेको अध्यक्ष आचार्यको भनाई छ । ‘अहिले क्रिकेट प्रति खेलाडीहरुको आकर्षक लोभलाग्दो छ,’ अध्यक्ष आचार्यले भने,‘प्रतियोगिताको लागि जिल्लाको टिम छनोटमा समेत भारतमा रहेका खेलाडीहरु आएर सहभागिता जनाएका छन् । जिल्लामा जन्मेर बाहिर बसेर खेलिरहेका खेलाडीहरु जिल्लाको टिम छनौटमा उपस्थित हुँदा प्रतियोगिता गर्न उत्साह थप भएको छ ।’

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले ट्रफी अनावरण गरेका थिए । उनले अन्तराष्ट्रिय स्तरमा खेलकुदले देशको नाम रोशन गरिरहेपनि सरकारी पक्षबाट खेल र खेलाडीको लागि प्रयाप्त बजेट विनियोजित नभएको भन्दै चिन्ता व्यक्त गरे । उनले स्थानीय तहले खेलकुद विभाग गठन नगर्ने र प्रदेश तथा संघ सरकारले खेलकुदमा बजेट विनियोजित नगर्दा ग्रास रुटका प्रतियोगिता संचालन गर्न र नयाँ खेलाडी उत्पादनमा समस्या भएको बताए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्काले सहयोग संकलन गरेर जिल्लाका खेल संघहरुले खेलाडी उत्पादन गर्ने र प्रतियोगिता गर्ने गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here