भूकम्पमा परेर हालसम्म १२८ जनाको मृत्यु

बीरेन्द्रनगर, १८ कार्तिक । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी हालसम्म १ सय २८ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका अनुसार पछिल्लो विवरण अनुसार भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ । उनका अनुसार थप विवरण संकलन हुँदैछ ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको मृत्यु भएको हो ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सयुक्त टोली दुबै जिल्लामा उद्धारमा खटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले बताए । उनका अनुसार भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । यसकारण पनि उद्धारमा समस्या भइरहेको छ । जाजरकोट र रुकुम पश्चिमका ग्रामीण क्षेत्रबाट घाइतेहरुको उद्धारका लागि हेलिकप्टको खाँचो छ। त्यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको छ । दुवै जिल्लाका अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहेका छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here