
बागलुङ, ६ कार्तिक । बडा दशैँको महानवमीका दिन आज बागलुङका कोतघरहरुमा बलि दिएर पुजाआजा गरिएको छ । बागलुङको सिगान कोत, रेश कोत, भीमापोखरा कोत लगायतका शक्तिपीठमा बलिसहित पूजा आराधना गरिएको हो । शक्तिपीठहरुमा रागो, बोकाको बलि दिइएको हो ।
आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा देवीको पूजा आराधना समेत गरियो । आजको दिन कलपूर्जा, हातहतियार र सवारीसाधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।
पशुबलि नचढाउनेले भने आज पूजाकोठामा कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजा आराधना गर्दछन् । नवमीको दिन शक्ति पिठहरुमा <span;>आफ्नो मनोकाँक्षा पुरा हुने जनविश्वासले ब्यक्तिगत रुपमा पशु बलि दिने गर्छन ।
बागलुङको प्रमुख शक्तिपिठ तथा धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका भगवती मन्दिरमा हिजो (आइतबार) कालरात्रीको दिनमा बलि दिइएको थियो ।