बागलुङ, २७ असोज । प्रहरी वरिष्ठ सई उज्वल पौडेलको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले थप एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीले घटनामा संलग्न रहेको भन्दै बिहिबार बडिगाड गाउँपालिका वडा नम्बर ६ का १९ वर्षीय विशाल सुनारलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले घटनाको अनुसन्धान गर्दा सुनारको संलग्नता देखिएकोले पक्राउ गरेर जिल्ला अदालत बागलुङमा बिहिबार ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान अगाडी बढाइएको बताए ।
गत साउन ८ गते (सोमबार) बेलुका ८ बजे बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा खाजा खान गएका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ सई पौडेल राती १ बजे सोही होटलमा मृत्त फेला परेका थिए । खाजा खाने क्रममा पौडेल र होटल संचालक कुँवर आमाछोरा विच विवाद हुँदा पौडेलको टाउँकोमा हात मुक्काले मरणासन्न हुने गरी कुटपिट गरी छातिमा प्रहर गरी बेहोस भई भुँईमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसेर राती साढे ११ बजेको समयमा हत्या गरेको आरोपमा होटलका संचालक ५१ बर्षिया आशा कुँवर र उनका छोरा २० बर्षिय विनोद कुँवरलाई प्रहरीले साउन ९ गते पक्राउ गरेको थियो ।
हत्यापछि पौडेलको सिक्री चोरी गर्ने कार्यमा संलग्न रहेको देखिएको भन्दै पक्राउ परेका कुँवर आमाछोरालाई जिल्ला अदालत बागलुङले भदौ ६ गते पुर्पक्षका लागि जेल पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ केसीले घटनाको अनुसन्धान भइरहेको र हत्या आरोपमा सुनारको संलग्नता देखिएकोले पक्राउ गरेर अनुसन्धान अगाडी बढाइएको बताए । उनले पौडेलको ज्यान लिने, सिक्री चोरी गर्ने कार्यमा होटल संचालक कुँवर आमाछोरा सहित सुनारको समेत संलग्न खुल्न आएको बताए ।