बागलुङ, १९ असाेज । बागलुङको बरेङ गाउँपालिकामा स्थानीय सेवामा कार्यरत कर्मचारीले शुक्रबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तयार भई मन्त्रिपरिषदबाट संघीय संसदमा पेस हुने तयारीमा रहेको संघीय निजामती ऐन विरुद्ध असहमति जनाउँदै बरेङ गाउँपालिकाका कर्मचारीले आन्दोलन सुरु गरेको बताएका छन् ।
बरेङ गाउँपालिका स्थानीय संघर्ष समितिका संयोजक सुर्यप्रसाद शर्माले स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिद्वारा जारी दबाबमूलक कार्यक्रममा एक्यबद्धता जनाउँदै शुक्रबारदेखि पेन डाउन सुरु गरेको बताए । उनले गाउँपालिका अन्तरगतका सवै कार्यलयमा अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालिन पेन डाउन गर्ने निर्णय गरेको बताए ।
संयोजक शर्माले आन्दोलनको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानालाई ऐक्यबद्धता, सहजिकरण र जानकारी सम्बन्धी पत्र बिहिबार नै बुझाइएको बताए ।
राज्यले स्थानीय सेवामा कार्यरत कर्मचारीलाई विभेदपूर्ण रूपमा हक अधिकार कुण्ठित हुने गरी निजामती विधेयक ल्याउन खोजेको भन्दै देशभरका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले विरोध गरेका छन् ।