
सुजन रेग्मी
बागलुङ, १९ असोज । बागलुङको मुलपानी माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसनी सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
लियो क्लब अफ धौलागिरी बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङको सहकार्यमा शुक्रबार मुलपानी माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसनी सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सुवास कंडेलले विद्यार्थीहरु लागुऔषधको कुलतबाट बच्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई लागु औषध र दुर्व्यसनीमा नपर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका असई सन्तोष रेग्मी र प्रहरी हवल्दार सुवास थापाले लागुऔषध दुर्व्यसनीले व्यक्ति र समाजलाई गर्ने हानी, नोक्सानीको बारेमा विद्यार्थीहरुलाई सहजिकरण गर्नुभएको थियो । उहाँहरुले लागुऔषध दुर्व्यसनीमा फस्दा हुने बेफाइदा र कानुनी कारवाहीको बारेमा जानकारी दिँदै समाजमा कसैले लागुऔषधको सेवन गरेको देखेमा प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभएको थियो ।
लियो क्लबका अध्यक्ष मनिष कँडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव आश्मिन शेख र स्वागत सचिन हरिजनले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।