बागलुङ, १९ असोज । बागलुङको काठेखोला गाउँपालिकाले एकीकृत घुम्ती शिविर सुरु गरेको छ । बिहिबार वडा नम्बर १ पालाकोटबाट घुम्ची शिविर सुरु भएको हो ।
उक्त शिविरमा चालु आर्थिक वर्ष २०८०/०८१ का विकास निर्माणका योजनाहरुको सम्झौताको साथै अपाङ्गता परिचयपत्र वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य परीक्षण (नसर्ने रोगको स्क्रिनिङ), आयुर्वेद स्वास्थ्य सेवा र कृषि तथा पशु सेवा गरिने गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले जानकारी दिनुभयो ।
शिविरको पहिलो दिन ८ वटा योजना सम्झौता गरिएको गाउँपालिकाका प्रबक्ता तथा कार्यपालिका सदस्य टिकासंगम विकले जानकारी दिनुभयो । यस्तै १०७ जनाले ज्येष्ठ नागरिक परिचयपत्र र २ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् ।
स्वास्थ्य शिविरमा १२६ जनाको स्वास्थ्य परिक्षण, ७३ जनाले कृषि पशुसेवा र ८६ जनाले आयुर्वेद सेवा प्राप्त गरेको गाउँपालिकाका प्रबक्ता विकले बताउनुभयो । यस्तै शिविरबाट १ जनालाई श्रम स्विकृति र ६ जनाले बैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने कल्यानकारी सेवा प्राप्त गरेका छन् ।
शिविरको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले नागरिकहरुलाई घरदैलोमै सेवा दिने उद्देश्यले एकीकृत शिविर संचालन गरेको बताउनुभयो । काठेखोला गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष खडक थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संचालन गाउँपालिकाका प्रशासन प्रमुख मनोज कार्कीले गर्नुभएको थियो ।
शिविरमा बागलुङ नगर अस्पतालका प्रमुख गरिमा खनाल, काठेखोला गाउँपालिका प्रशासन शाखा प्रमुख मनोज कार्की, स्वास्थ्य शाखा प्रमुख सोमराज पाण्डे, योजना शाखा अधिकृत उत्तम पौडेल, सुचना प्रविधि शाखा प्रमुख नारायण पौडेल, कर्षि शाखा प्रमुख भावना रोका, पशुसेवा शाखाका प्रमुख होम बहादुर थापा, आर्युवेद शाखाका प्रमुख गोपाल शर्मा, रोगजार सेवा शाखा प्रमुख जनक पौडेल लगायत गाउँपालिकाका कर्मचारीहरुले सेवा दिनुभएको थियो ।
शिविर सवै वडामा संचालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताउनुभयो । आश्विन २६ गतेसम्म काठेखोला गाउँपालिकाको सम्पुर्ण वडाहरुमा सञ्चालन हुने शिविरमा योजना सम्झौता, जेष्ठ नागरिक एवम अपांग परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य सेवा, आयुर्वेद स्वास्थ्य सेवा, कृषि एवम पशुसेवा र बैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने कल्यानकारी सेवाको सहजीकरण (श्रम स्विकृति) लगायतका सेवा प्रवाह गरिने प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो ।