
बागलुङ, १५ असोज । चाडपर्व नजिकिएसंगै बागलुङ बजारको अनगुमन गर्न थालिएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र जिल्ला प्रशासन कार्यालयको अगुवाईमा आइतबार बागलुङ बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा बजारका बिभिन्न किनारा पसलहरुमा म्याद गज्रेका अखाद्य सामाग्री फेला परेको छ ।
आइतबार राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ र पत्रकार सहितको अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालय आसपास, भलायटोल देखि देउरालीचोक सम्मका विभिन्न किराना पसलहरुमा अनुगमन गरिएको थियो । सोमबार अन्य स्थानमा अनुगमन गर्ने योजना रहेको छ ।
अनुगमनका क्रममा धौलागिरी भुजामा मिति सच्चाएको, अर्ना बियरमा मिति गुज्रेको र रिजालको दालमोटमा मिति गुज्रेको पाइएको छ । यस्तै अनुगमनको क्रममा लेज, कुरकुरे, फ्यान्टा, कोक तथा स्प्राइटको समेत मिति गुज्रेको पाइएको छ ।
मिति गुज्रेका सामाग्रीहरुलाई पसलमै नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । अनुगमनमा देखिएको त्रुटीलाई सच्चाउन व्यापारीहरुलाई सचेत बनाइएको भन्दै बरालले अब नियमित बजार अनुगमन गर्ने बताउनुभयो ।
अनुगमनका क्रममा मिति गुज्रेका सामाग्रीहरु समेत मिति कायम भएका सामाग्री संगै राखेर विक्रि गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका खाद्य प्राविधिक सहन्सा कुमार महतोले जानकारी दिनुभयो ।आगमी दिनमा मासु पसलमा समेत अनुगमन थालिने र दर्ता नभएका पसलहरुलाई दर्ताका लागि अनुरोध गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंङ थापाले जानकारी दिनुभयो ।