
बागलुङ, १४ असोज । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने तमादीखोलामा आएको बाढीले बगाएका तीन जना यात्रुको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्बतका अनुसार जीप सहित बेपत्ता हुनेमा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका ३ का विजय भनिने २७ बर्षिय माधव पौडेल र बागलुङ जिल्लाको ताराखोला गाउँपालिका ३ का ५० बर्षिय डम्मर बहादुर थापा र रुपेन्देही जिल्लाको तिलोत्तमा ९ का ३४ बर्षिया गोपाल बस्याल रहेका छन । बेपत्ता मध्य बस्यालको शब फेला परेको छभने पौडेल र थापा फेला नपरेको जिप्रका पर्वतका प्रहरी नायव उपरीक्षक (डिएसपि) खुमलाल भुषालले जानकारी दिए ।
मध्यपहाडी लोकमार्गको तमादीखोलामा शनिबार साँझ आएको बाढीले बागलुङदेखि पोखरा जाँदै गरेको ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमो जीप बगाएको थियो । चार जना सवार उक्त जीपमा चालकले हाम्फालेर ज्यान बचाएका छन्भने जीपसहित तीन जना बेपत्ता भएका थिए । बेपत्ता मध्य बस्यालको शब र जीपका केही टुक्रा शनिबार राती मोदीखोला भन्दा केही माथि जम्बुर भन्ने ठाउँमा हिलोले पुरिएको अवस्थामा फेला परेको थियो । आइतबार जीपको केही भाग माटोमा पुरिएको फेलापरेपछि सुरक्षाकर्मीले उक्त गाडीका निकालेका छन ।
सवारी चालक कास्की हेम्जाका बसन्त बहादुर थापालाई प्रहरीले शनिबार नै नियन्त्रणमा लिएको छ ।
बेपत्ता दुई जनाको नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले आइतबार विहानै देखि तमादी खोलाको सवै भागमा खोजी गरेका थिए । तमादी खोला मोदी खोलामा मिसिएको छ ।